सद्भाव यूएसमा खेल्ने पहिलो नेपाली गल्फर बन्दै



काठमाडौं ।

नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य अमेरिकामा हुने यूएस एमेच्योर च्याम्पियनसिपमा खेल्ने भएका छन्। १८ वर्षीय सद्भावले १२४औं संस्करणको उक्त च्याम्पियनसिपको अन्तिम चरणको छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन्।

सद्भावले युनाइटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा अन्तिम चरणको छनोटका लागि विशेष निमन्त्रणामा अमेरिकामा खेल्ने वातावरण मिलेको हो। उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन्।

योसँगै सद्भाव यूएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फरसमेत बन्नेछन् । यूएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ।

यसै गरी सदभावले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउनेछन्। अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई फ्लोरिडास्थित टीपीएस सग्रसको दि प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा पठाएको जनाएको छ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदारमध्येको एक खेलाडी भएकाले अमेरिकन जुनियर गल्फ संघले सदभावलाई निमन्त्रणा पठाएको नेपाल गल्फ संघले जनाएको छ । यो च्याम्पियनसिप आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म आयोजना हुनेछ।

सद्भावले अमेरिकामा विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिनेछन्।

प्रतिक्रिया दिनुहोस्