रोनाल्डो भर्सेस एमबाप्पे



एजेन्सी ।

क्रिस्टियानो रोनाल्डो र किलियन एमबाप्पेका टोलीबिच हुने खेल फुटबल आइकनको भीडन्तको रुपमा हेरिएको छ। साथै यसलाई दुई पुस्ताबिचको भीडन्त समेत हुने चित्रित गरिएको छ।

पोर्चुगलले फ्रान्सविरुद्ध युरो २०२४ क्वार्टरफाइनल खेलमा शुक्रबार राति खेल्नेछ। ३९ वर्षीय रोनाल्डोले स्लोभेनियाविरुद्ध खेल जितेपछि बताए—यसमा कुनै शंका छैन कि यो मेरो अन्तिम युरोपियन च्याम्पियनसिप हो।

उनको यो युरो यात्रामा एमबाप्पेले पूर्णविराम लगाउनेछन् भन्नेहरू पनि छन्। एमबाप्पेले उनी सुत्ने कोठाको भित्तामा रोनाल्डोकै तस्वीर राखेका छन्। उनको बाल्यकालको एउटा तस्वीर पनि मिडियामा प्रकाशित भइसकेको छ। एमबाप्पेले रोनाल्डोलाई १२ वर्षको उमेरमा स्पेनी क्लबको भ्रमणमा भेटिसकेका थिए।

रोनाल्डोले विश्वकप २०२२ का अन्तिम चार र जारी युरोकपमा चार गरी आठ खेलमा गोल गर्न असफल भइसकेका छन्। तर, जारी युरोमा फ्रान्सका लागि एमबाप्पे पनि गोल गर्न सकिरहेका छैनन्। उनको त पहिलो खेलमै नाक भाँच्चिएर रगताम्मे भएको थियो। उनले बेल्जियमविरुद्ध फेसमास्क लगाएर खेल्नुपरेको थियो।

दुई जनाको तुलना गर्दा पनि गत विश्वकपमा एमबाप्पे शीर्ष गोलकर्ता बनेका थिए। रोनाल्डो भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्। दुबै टोलीले उनीहरूबाट गोलको अपेक्षा गरिरहेको अवस्थामा यी दुई जना खेलाडी जर्मनीमा एक गोल पनि गर्न सकिरहेका छैनन्।

एमबाप्पेले २५ वर्षको उमेरमा फ्रान्सको लागि ४८ गोल गरिसके भने च्याम्पियन्स लिगमा ४८ गोल गरेका छन्। उनले रोनाल्डोको गोल कीर्तिमान अन्तर्राष्ट्रिय (१३०) र च्याम्पियन्स लिग (१४०) मा पुग्न अझ समय कुर्नु पर्नेछ। यो तथ्यांकले के देखाउँछ भने एमबाप्पे रोनाल्डोभन्दा धेरै पछि छन् । तर, शुक्रबार कसले बाजी मार्नेछन् त्यो हेर्नै बाँकी छ।

प्रतिक्रिया दिनुहोस्