अर्थ मन्त्रालयमा चरम बेथिति

सामाजिक सुरक्षा भत्ताको अभाव भइरहँदा करोडौं खर्चेर जम्बो टोली विदेश जाँदै



–प्रधानमन्त्रीको निर्देशनको अवज्ञा 
–प्रधानमन्त्रीले हस्तक्षेप गरेर भ्रमण रोक्नुपर्ने
–सामाजिक सुरक्षा रकम अभाव भइरहँदा अनावश्यक भ्रमणमा करोडांै
–एउटै मन्त्रालयबाट ३९ जना कर्मचारी विदेश उड्दै
–अर्थ सचिवले एयरपोर्टमा नै गरे विदेश भ्रमणको स्वीकृति
–अर्थद्वारा आफैंले बनाएको मितव्ययितासम्बन्धी कार्यविधिको धज्जी

काठमाडौं ।

मुलुकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने रकमको समेत अभाव भइरहँदा अर्थ मन्त्रालयले करोडौं रुपियाँ खर्च गर्दै जम्बो टोलीलाई विदेश भ्रमणमा पठाउने तयारी गरेको छ। आर्थिक मितव्ययिताको समेत धज्जी उडाउने गरी जम्बो टोलीलाई विदेश पठाउन लागिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरू विदेश भ्रमणमा जाने प्रवृत्ति अत्यधिक बढेको भन्दै रोक्न निर्देशन दिए पनि अर्थ मन्त्रालयले नै अटेर गर्दै तीन दर्जन बढीको जम्बो टोलीलाई युरोप, अस्ट्रेलिया तथा थाइल्यान्डलगायत एसियाका विभिन्न देशमा पठाउने भएको हो ।

आर्थिक वर्षको अन्तिममा मन्त्रालयले गर्नुपर्ने विभिन्न महत्वपूर्ण कार्यलाई थाती राख्दै अर्थ मन्त्रालयले करोडौं रुपियाँ खर्चने गरी जम्बो टोलीलाई विदेश भ्रमणमा पठाउने निर्णय गरे पनि प्रधानमन्त्रीले आफ्नो निर्देशनअनुसार सो भ्रमणलाई रोक्न पहल गर्नुभएको छैन । अर्थ मन्त्रालय र त्यहाँका कर्मचारीहरूले पनि प्रधानमन्त्रीको निर्देशनको ठाडो उल्लंघन गर्दै विदेशमा मोजमस्ती गर्ने गरी भ्रमणको तयारी गरेका छन् । अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव मधु मरासिनीले मन्त्रालयले बनाएको आर्थिक मितव्ययितासम्बन्धी निर्देशिकाको धज्जी उडाउँदै १५ दिनको अन्तरालमा मन्त्रालयका ३९ जना कर्मचारीलाई विदेश भ्रमणको स्वीकृति दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्थ मन्त्रालयलगायत सबै मन्त्रालयलाई आर्थिक वर्षको अन्तिमको समयमा विदेश भ्रमण नगर्न र सरकारको नीति तथा कार्यक्रममा मन्त्रालयगत माइलस्टोन बनाउनुपर्ने भएकाले असार र साउन महिनामा सकेसम्म कुनै पनि कर्मचारीलाई विदेश जान नदिन निर्देशन दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयको सो निर्देशन अर्थ सचिव मरासिनी आफैंले उल्लंघन गर्नुभएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने रकमसमेत अभाव भइरहेको अवस्थामा कर्मचारीहरू मनपर्दी रूपमा लाखौं खर्चेर विदेश भ्रमण जान लागेको भन्दै आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेर यो भ्रमण रोक्नुपर्ने माग अर्थ मन्त्रालयभित्रै उठ्न थालेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार विभिन्न देशमा बजेट तर्जुमा तथा व्यवस्थापन प्रणाली सम्बन्धमा भइरहेका कार्य र अभ्यासका बारेमा अध्ययन तथा अवलोकन गर्ने बहानामा ३९ जनाको जम्बो टोलीलाई असार र साउनको दोस्रो हप्तासम्म विदेश पठाउन लागेको हो ।

अर्थ मन्त्रालयका अनुसार विभिन्न चार टोली बनाएर उनीहरूलाई १५ दिनको अन्तरालमा विभिन्न देश पठाउन लागिएको हो । चारवटा टोलीमध्ये ३ वटा टोलीमा १०–१० जना र एउटा टोलीमा ९ जना सहभागी हुनेछन् । ती कर्मचारीको विदेश भ्रमण मनोनयनसम्बन्धी फाइलमा अर्थ सचिव मरासिनीले त्रिभुवन विमानस्थलमा नै हतारहतार स्वीकृत गर्नुभएको थियो । ‘अर्थ सचिव आफैं पनि धेरैपटक विदेश गइसक्नुभएको छ, त्यसैक्रममा उहाँले अन्य कर्मचारीको विदेश मनोनयको स्वीकृति पनि एयरपोर्टमा नै गर्नुभएको हो’ –अर्थ मन्त्रालय स्रोतले भन्यो ।

कर्मचारीको दोहोरो टिकट, विदेशमा होटल खर्च, भ्रमण भत्तालगायत सबै खर्च गरेर ३९ जना कर्मचारीको १० करोडसम्म खर्च हुने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार विविध शीर्षकबाट छुट्याएको बजेट रकमान्तर गरेर भ्रमण खर्चमा मिलाइएको हो । विदेश जानेहरूमा अधिकांश मन्त्री र सचिवका आसेपासे र एसम्यान कर्मचारी रहेको मन्त्रालयका अन्य कर्मचारीको गुनासो छ। बजेट महाशाखामा रहेकाहरूलाई खुसी बनाउन र उनीहरूलाई आगामी दिनमा प्रयोग गर्नका लागि छानीछानी पठाइएको पनि ती कर्मचारीले बताए । सामाजिक सुरक्षा भत्ता निकासासम्बन्धी फाइल अर्थ मन्त्रालयमा अड्किँदै आएको छ । स्वास्थ्यतर्फ समायोजनमा परेका ३ सय बढी कर्मचारीहरूले दुई वर्षदेखि तलब भत्ता खान नपाएर पीडित छन् । तर, उता मन्त्रालयले आफैंले बनाएको मितव्ययिताविपरीत हुने गरी राज्यकोषमा अनावश्यक भार पार्ने गरी जम्बो टोलीलाई विदेश भ्रमणमा पठाउन लागिएको हो ।

यी हुन् विदेश उड्ने तयारीमा रहेका जम्बो टोलीका कर्मचारी

अर्थ मन्त्रालयका अनुसार उपसचिव टीकाराम भुसालको नेतृत्वमा १० जना कर्मचारीको टोली असार २६ देखि साउन १ गतेसम्म थाइल्यान्ड भ्रमणमा जान लागेको छ । सो टोलीका अन्य सदस्यहरूमा उपसचिवहरू पूर्णप्रसाद न्यौपाने, दिलीप केसी, शाखा अधिकृतहरू राजबोली सम्बाहाम्फे, सन्तोष तामाङ, भरत आचार्य, खेमेन्द्रमणि घिमिरे, कम्प्युटर अधिकृतहरू विना श्रेष्ठ र कल्पना शाक्य तथा अर्थमन्त्री पुनको सचिवालयमा कार्यरत एक शाखा अधिकृत छन् ।

यसै गरी २०८१ साउन १ देखि ७ गतेसम्म उपसचिव ध्रुवप्रसाद पाण्डेको नेतृत्वमा ९ जना कर्मचारीको अर्को टोली अस्ट्रेलिया भ्रमणमा जान लागेको छ । सो टोलीमा शाखा अधिकृतहरू रघु पराजुली, सुशीला भट्ट पण्डित, युवराज अधिकारी, रामकुमार श्रेष्ठ, दिलक आचार्य, राजन थापा, कम्प्युटर अधिकृत सुजिता जोशी र राजस्व सचिवको सचिवालयमा कार्यरत शाखा अधिकृतलाई अस्ट्रेलिया भ्रमणका लागि मनोनयन गरिएको छ ।

त्यसै गरी, उपसचिव जगदिश्वर उपाध्यायको नेतृत्वमा १० जना कर्मचारीको अर्को टोली अफ्रिका भ्रमणमा जान लागेको छ । साउन ४ देखि १० गतेसम्म उक्त टोली अफ्रिका जान लागेको हो । सो टोलीमा उपसचिवहरू देवनारायण पौडेल, रमेश शर्मा, लेखाका उपसचिव ज्ञानेन्द्रराज ओझा, उपसचिव कमानसिं थापा, शाखा अधिकृतहरू अशोक गुरागाईं, बुद्धिप्रसाद पन्त, मात्रिका नेपाल, यादव खड्का र कम्प्युटर इन्जिनियर अमर सुवेदी छन् ।

यस्तै, उपसचिव गौरीशंकर उपाध्यायको नेतृत्वमा १० जना कर्मचारीहरूको अर्को टोली स्विट्जरल्यान्ड जान लागेको छ । असार २५ देखि असार ३१ सम्म उक्त टोली स्विट्जरल्यान्ड जान लागेको अर्थ मन्त्रलायले जनाएको छ । सो टोलीमा उपसचिव सन्तोष न्यौपाने, शाखा अधिकृतहरू रमेशकुमार कार्की, घनश्याम भुसाल, दिनेश खनाल, नेत्रप्रसाद घिमिरे, अञ्जना गिरी, रिना लम्साल र कम्प्युटर अधिकृतहरू गणेश सिंह रावल तथा पार्कर अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्