ललितपुरका मेयर चिरिबाबुविरुद्ध आधा दर्जन उजुरी, अख्तियारले बोलायो बयानमा



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनविरुद्ध आधा दर्जनभन्दा बढी उजुरी रहेका छन् । मेयर महर्जनको अघिल्लो कार्यकालमा भएगरेका काम कारबाहीविरुद्ध आधा दर्जनभन्दा उजुरी छानबिनका क्रममा रहेको आयोगले जनाएको छ।

‘तीन चार वर्षअघि परेका उजुरीहरूदेखि अहिलेसम्मका उजुरीहरू गणना गर्ने हो भने आधा दर्जनभन्दा बढिरहेका छन्। अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार सबै उजुरीहरू छानबिनकै क्रममा रहेका छन्।

स्वकीय सचिव, सल्लाहकार, गैरकानुनी रूपमा सबैलाई तलब दिइरहेको भन्ने लगायत देखि महालेखा परीक्षकले औंल्याएका विषयदेखि कार्यपालिका छलेर आफूखुसी जथाभाबी रकम बाँडेका, नियमविपरीत नक्सापास गरेका कार्यहरू नै उजुरीको विषय रहेका छन् । यसमा एकाएक निजी विद्यालयलाई आर्थिक सहयोग बाँडेको, पहिरोपीडितलाई रकम बाँडेको विषयमा उजुरी रहेका छन् ।

यसैबीच महानगरपालिका धापाखेल–२४ मा कार्यपालिकालाई छलेर रकम बाँडेको विषयमा आयोगले यही असार २६ गते बुधबार बयानका लागि मेयर महर्जनलाई आयोगमा बोलाएको छ । सो पत्र असार १९ मा काटिएको थियो ।

आयोगको पत्रमा भनिएको छ– ‘२०७७ सालमा आएको बाढी, पहिरोबाट धापाखेल–२४ मा बाढीपीडितलाई १ लाख ५० हजार र २ लाख ५० हजार नगरकार्यपालिकाको निर्णयविपरीत नगरप्रमुखले एकलौटी ढंगले आर्थिक सहयोगको नाउँमा रकम बाँडी महानगरपालिकालाई हानि गरेको भनी आयोगको दर्ता भएको उजुरीको अनुसन्धानका क्रममा केही कुरा बुझ्नुपर्ने भएकोले आयोगमा उपस्थिति भइदिनु होला ।’ सो उजुरी आयोगमा २०७८ असार ३१ गते परेको थियो ।

२०७८ असार १ मा काठमाडौंमा परेको ठूलो पानीपछि धापाखेलमा पहिरो गएको थियो । पहिरोले केही घर भत्किएको थियो भने केहीमा क्षति पुगेको थियो । महानगरपालिकाले घरबारविहीन भएकाहरूलाई साढे २ लाख र क्षति पुगेका घरधनीहरूलाई डेढ लाख रुपियाँ राहत वितरण गरेको थियो। त्यति बेला आकस्मिक रूपमा निर्णय गर्न पाउने कार्यक्रम शीर्षकबाट महानगरपालिकाले २३ लाख बाँडेको मेयर महर्जनको भनाइ रहेको छ । कार्यपालिकालाई छलेर मेयरले मनोमानी नगद बाँडेको विषयमा त्यति बेलाको नगरसभामा यो विषय निकै उठेको थियो ।

यसैबीच आयोगले बिना कुनै कानुन तोक आदेशको भरमा नियुक्ति गरी मासिक रूपमा सेवासुविधा दिएको विषयमा आयोगले बयानका लागि मेयरलाई पत्र काटेको छ । पत्रमा मेयर महर्जनलाई असार २८ गते हाजिर हुन भनिएको छ । सो पत्र असार १८ गते लेखिएको थियो। यस विषयमा महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष प्रतिवेदनमा औंल्याउँदै आएको छ भने यस वर्ष पनि सो विषयमा औंल्याएको छ ।

मेयर महर्जनका अनुसार आयुक्त डा. सुमित्रा अमात्यको ललितपुरको १० स्थित घरको कम्पाउन्डको विषयलाई लिएर विवाद भइरहेको बेला आयोगले परेका उजुरीको छानबिन कार्य अघि बढाएको बताउनुभयो। मेयर महर्जनले बुधबार अमात्यको घरको कम्पाउन्ड डोजर लगाएर भत्काउन लगाइएको थियो। घरको कम्पान्ड र त्यहाँ पार्क बनाउने विषयमा अमात्यको शुरुदेखिको विवादले गर्दा आयोगले आफूलाई बयानका लागि एकपछि अर्कों पत्र लेखेको बताउनुभयो। यसअघि अर्को आयोगले महानगरपालिकामा पत्र काटेर हैरान बनाउने भन्दै मेयर महर्जनले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर गुनासो पोख्नुभएको थियो ।

‘आयोगले उजुरी परेपछि छानबिन गर्ने हो। उजुरी परेका विषयमा तथ्य, प्रमाण र विभिन्न प्रकृतिको आधारमा आयोगको एउटा समितिले छानबिन अघि बढाउन योग्य छ वा छैन भन्ने निर्णय गर्दछ। यस आधारमा आयोगले बयानका लागि बोलाउने हो’, आयुक्त डा. अमात्यले भन्नुभयो– ‘घरको विवादले गर्दा छानबिन अघि बढायो भने मेयरको आरोप छ।

मेयरको भनाइअनुसार आयोगमा कुनै विषयमा उजुरी परेपछि छानबिन र बयानका लागि कि बोलाउनु नै भएन । आयोगले उजुरी परेपछि छानबिन गर्ने हो। उहाँले उजुरी नै मैले हालेजस्तो गरी कुरा गरिरहनुभएको छ।’ आयोगले मेयरलाई बयानका लागि बोलाएपछि त्यसलाई बंग्याउन आफ्नो घर भत्काएको पनि आयुक्त अमात्यको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस्