लालध्वज हत्यामा जिल्ला अदालत बाराको फैसला सदर गर्ने उच्च अदालतको फैसला



 बारा। 

बाराको निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय लालध्वज लामा ‘सानु’ को हत्या सम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बारा जिल्ला अदालतको फैसलालाई बुधवार साँझ सदर गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २ वर्षअघि जिल्ला अदालत बाराले निजगढ नगरपालिका वडा नम्बर– ८ का ३३ वर्षीय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्रबहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानविरुद्ध सुनाएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको हो ।

अदालतका न्यायाधीश रत्नबहादुर बाँगचन र भरत लम्सालको १ नम्बर संयुक्त इजलासले जिल्ला अदालत बाराको फैसला सदर गर्ने आदेश दिएको मृतकका दाजु आसमान लामाले जानकारी दिए ।

जीतपुरसिमरा वडा नम्बर २२ अमलेखगंजस्थित ससुराली घरबाट २०७७ साल असार २१ गते बेपत्ता भएका लालध्वजको एक सातापछि जीतपुरसिमरा उपमहानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पूर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला अदालतको फैसलामा पुनरावेदन माग गर्दै परेको रिटमा उच्च अदालतले  फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्