हिमालयन एभरेस्ट इन्स्योरेन्स व्यवस्थापनको मनोमानी

सीईओ शाहलाई सफाइको मौका नै नदिई हटाइयो



काठमाडौं ।

निर्जीवन बिमक हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहलाई व्यवस्थापन समितिको दादागिरीकै कारण पदबाट हटाएको पाइएको छ।

बिमा ऐन, २०७९ को दफा ५७ को (३) मा पदबाट हटाउनुअघि निजलाई सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्नेछ भन्ने उल्लेख गरिए पनि सफाइको मौकै नदिई एकाएक हटाइएको हो। २०७९ श्रावण १ देखि २०८३ असार मसान्तसम्मको करार अवधि रहे पनि असार ७ गते बिहीबारदेखि लागू हुने गरी सञ्चालक समितिले पदबाट हटाएको छ।

यसरी मनोमानी रूपमा सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई हटाउँदै जाने नजिर स्थापना हुँदा जीवन बिमा १४, निर्जीवन बिमा १४ र पुनर्बिमा २ र लघुबिमाका ३८ प्रमुख कार्यकारी अधिकृतहरूले आफूहरूलाई पनि करार अवधि नै नपुगी हटाउन सक्ने भन्दै सशंकित बनेका छन्।

कम्पनीमा शाहको डेढ वर्ष कार्यकाल बाँकी हुँदै कम्पनीको सञ्चालक समितिले उहाँलाई हटाएको विषयप्रति हिमालयन एभरेस्ट इन्स्योरेन्स कर्मचारी संघले खेद व्यक्त गरेको छ। संघले प्रमुख कार्यकारी अधिकृत आएपछि कम्पनी सक्षम बिमा कम्पनीका रूपमा स्थापित हुँदै गइरहेको अवस्थामा एकाएक व्यवस्थापन समितिले हटाउने निर्णय गरेको भन्दै खेद व्यक्त गरेको हो। संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कर्मचारीले आफ्नो भविष्य पनि कम्पनीमा देख्ने भएको हुनाले यस्ता अपरिपक्व निर्णयले कम्पनीप्रति विश्वास गुम्ने तथा कर्मचारीको मनोबल खस्कने विषयमा ध्यानाकर्षण भएकोे छ।’

त्यसै गरी कार्यकारी अधिकृत शाहले सफाइको मौका नै नदिई आफूलाई हटाएको भन्दै १४ गते बिहीबार नेपाल बिमा प्राधिकरणमा निवेदन दिनुभएको छ । प्राधिकरण कार्यालयका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणमा निवेदन आएको र निवेदनउपर छलफल भइरहेको बताउनुभयो।

हिमालयन एभरेस्ट इन्स्योरेन्सका कम्पनीका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा फोन काट्नुभएको छ। त्यसै गरी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभएका डीसीओ अन्जु श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा आफू मिटिङमा रहेको हुनाले कुरा गर्न नसक्ने बताउनुभयो ।

करिब ४० वर्ष निजी क्षेत्रमा काम गरी अनुभव हासिल गरेका अब्बल शाहलाई कम्पनीले नै तालिम लिनका लागि अमेरिका पठाएको थियो। अमेरिकाबाट फर्किनेबित्तिकै एकाएक प्रमुख कार्यकारी अधिकृत शाहलाई पदबाट हटाइएको थियो। कम्पनीले जारी गरेको विज्ञप्तिमा समेत शाहको नेतृत्वमा कम्पनीले गैरजीवन बिमा उद्योगको इतिहासमै पहिलोपटक मर्जर गराएको उल्लेख छ।

यसरी सञ्चालक समितिको इच्छाअनुसार प्रमुख कार्यकारी अधिकृत हटाउने कार्यले निजी क्षेत्रका सर्वसाधारण ४० लाख जनताको लगानी भविष्य के हुने भन्ने अन्योल रहेको जानकारहरू बताउँछन् । सञ्चालक समिति अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले जारी गरेको पत्रमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी त्यहीँ कार्यरत डीसीओ अञ्जु श्रेष्ठलाई दिनुभएको छ ।

इन्स्योरेन्सको खटनपटनमा अवैधानिक प्रवेशिका उत्तीर्ण ‘आर नाइडु’

हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको खटनपटनमा प्रवेशिका उत्तीर्ण रमन जुलु लाइडुको (आर नाइडु) हात रहेको पाइएको छ। व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ पढेको स्कुलका स्पोर्ट शिक्षक नाइडुलाई योग्यताबिना नै प्रमुख प्रविधि अधिकारी (चिफ टेक्नोलोजी अफिसर) को जिम्मेवारी दिँदा कानुनको धज्जी उडेको हो।

बिमा ऐन, २०७९ को दफा ५९ मा व्यवस्थापन वा प्राविधिक सेवा लिन सम्झौता गर्नुपर्ने उल्लेख गरे पनि नाइडुले कुनै सम्झौता नगरी काम गरेको इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । उहाँले अवैधानिक रूपमा हिमालयन एभरेस्ट इन्स्योरेन्स र माउन्टेन इनर्जी नेपाल लिमिटेड कम्पनी दुवै ठाउँमा काम गरेको पाइएको हो । नाइडुले भारतको केरलामा जन्मिई नेपाली नागरिकता लिनुभएकोे पनि इन्स्योरेन्स स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्