नयाँ सरकार बनाउन कांग्रेस-एमालेबीच सहमति

ओली र देउवा आलोपालो प्रधानमन्त्री



काठमाडौं ।

संसद्का दुई ठुला दल कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन्। दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि सोमबार मध्यराति सत्ता सहकार्यका लागि शीर्ष तहमा सहमति जुटेको हो।

सहमति अनुसार सुरुमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ। जस अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली डेढ वर्ष प्रधानमन्त्री बन्ने छन्। त्यसपछि बाँकी अवधि चुनावसम्म सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमतिमा उल्लेख छ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति पनि भएको छ। दुई दलबीच सातवटै प्रदेश सरकारमा पनि भागबण्डा भएको छ।

दुई तिहाइ बहुमत पुर्‍याउन अन्य साना दललाई समेट्दा अन्य मन्त्रालय समेत आपसी सहमतिमा भागबण्डा गर्ने प्रारम्भिक सहमति भएको छ ।

जसअनुसार तीन प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ तीनमा एमालेले सरकार बनाउने भएको छ। मधेस सरकारको नेतृत्व मधेस केन्द्रित दलबाट हुने समझदारी जुटेको छ।

उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन्।

त्यसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोन सुझाव समिति गठन गर्ने पनि समझदारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्