पाकिस्तानी दूतावासले गर्‍यो  निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत



काठमाडौं।

 नेपालस्थित पाकिस्तानी दूतावासले ११ औं वार्षिक निबन्ध लेखन प्रतियोगिता र ७ औं वार्षिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दूतावासले बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी दुवै प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पदक र नगद पुरस्कार हस्तान्तरण गरेका थिए।
दक्षिण एसियाली मुलुकको आर्थिक तथा सामाजिक उत्थानमा क्षेत्रीय सम्बन्ध विस्तारको भूमिका शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित नगद पुरस्कारका साथै उपहार दिइएको थियो ।

 उक्त प्रतियोगितामा उत्कृष्ट अन्य १२ विद्यार्थीहरुलाई पनि नगद पुरस्कारका साथै उपहार प्रदान गरिएको थियो । विगत २ सातासम्म चलेको चरणबद्ध प्रतियोगितामा ३५ वटा उच्च माध्यामिक विद्यायलका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीलाई क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित नगद पुरस्कारका साथै उपहार दिइएको थियो भने उत्कृष्ट १३ विद्यार्थीहरुलाई नगद पुरस्कार र उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा उपकुलपति प्राडा थापाले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गर्दै यसलाई निरन्तरता दिएकोमा पाकिस्तानप्रति आभार व्यक्त गरे । उनले शिक्षित युवा सबैका लागि लाभदायक हुने भन्दै पाकिस्तानमा उच्च शिक्षा आर्जन गरेका नेपाली विद्यार्थीहरुले देश विकासमा पुर्याएको योगदानको चर्चा पनि गरे ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले सहभागी विद्यार्थीहरुको आलोचनात्क सोचको प्रशंसा गरे । उनले विद्यार्थीमा आत्मसात गर्ने, समाधानमा आधारित र अग्रगामी चिन्तन गर्ने बानी उज्ज्वल भविष्यका लागि अत्यावश्यक रहेको जिकिर गर्दै यस्ता खालका रचनात्मक कार्यले दुई देशबीचको युवा अन्तरक्रियाका लागि स्थायी पुलको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्