ईभी स्क्याम

सरकारले ५ करोडको उपकरण नकिन्दा ५ अर्ब राजस्व गुम्यो

मोटर डाइनोमोमिटर खरिदमा सरकारी बेवास्ताले मौलायो बीवाईडीको ठगी धन्दा



–मिलेमतोको आशंका
–प्रधानमन्त्री कार्यालय र यातायात मन्त्रालयको किन बेवास्ता ?
–मेसिन ल्याउन भौतिक पूर्वाधार मन्त्री महासेठले गरेनन् कुनै पहल

 काठमाडौं ।

सरकारले विद्युतीय गाडी (ईभी)को क्षमता मापन गर्ने उपकरणहरू च्यासी डाइनोमोमिटर र मोटर डाइनोमोमिटर समयमा नै खरिद गर्न नसक्दा चिनियाँ गाडी बीवाईडीको ठगी धन्दा मौलाउन पुगेको छ।

बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले कागजपत्रहरू नियन्त्रणमा लिई छानबिन जारी राख्दै आइरहेको छ। तर, बीवाईडीका ती गाडीहरूको क्षमता मापन गर्ने उपकरण नहुँदा राजस्व अनुसन्धान विभागको छानबिन प्रक्रियामा समेत समस्या पर्न सक्ने देखिएको छ।

प्राविधिकहरूका अनुसार ईभीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ। नेपालमा यी दुवै उपकरणहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था रहेको छ।

जसका कारण पनि अर्बौं राजस्व ठगी भइरहेको बताइएको छ। विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर सोहीअनुसार राजस्व लिने गरेको प्राविधिकहरूको भनाइ छ। ती मेसिनको मूल्य झण्डै ५ करोड पर्छ। सरकारले पाँच करोडको मेसिन किन्न नसक्दा ईभी गाडीबाट लिनुपर्ने झण्डै ५ अर्ब बराबरको राजस्व गुमाएको स्रोतको दाबी छ।

राजस्व अनुसन्धान विभागले यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समेत आवश्यक समन्वय गरी ईभी गाडीको क्षमता मापन सम्बन्धमा आवश्यक उपाय निकाल्नुपर्नेमा त्यस सम्बन्धमा कुनै गृहकार्य नभएको बुझिएको छ।

साथै यस सम्बन्धमा सरकारका सरोकारवाला निकायको रूपमा रहेका राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र यातायात व्यवस्था विभाग बीचमा समेत कुनै समन्वय हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत यसलाई गम्भीरतापूर्वक लिएको छैन भने मुख्य दायित्वमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समेत ईभीको क्षमता मापन गर्ने मोटर डाइनोमोमिटर खरिद प्रक्रियामा पूर्ण रूपमा बेवास्ता गर्दै आइरहनुभएको बताइन्छ। मन्त्री महासेठले ती गाडीको क्षमता मापन गर्ने उपकरण ल्याउन पहल गर्नुपर्नेमा मन्त्रालयमा अझै यस सम्बन्धमा कुनै छलफल थाल्न नसकेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

सरकारी निकाय र बीवाईडी गाडी आयातकर्ता साइमेक्स इंकबीच मिलेमतो भएकाले नै गाडीको क्षमता मापन गर्ने उपकरण ल्याउनेतर्फ सरकारी निकाय उदासीन भएको हुनसक्ने स्रोतको भनाइ छ । ‘सरकारले राजस्व छली रोक्न पनि सो उपकरण समयमा नै खरिद गरी सञ्चालनमा ल्याउनुपथ्र्यो तर खरिद गर्न बेवास्ता गरेकाले बीवाईडीका आयातकर्तासँग मिलेमतो भएको हुनसक्ने आशंका गर्न सकिन्छ।’ –स्रोतले भन्यो ।

हाल नेपालको जम्मा गाडी बिक्रीमा ईभी गाडीको बिक्री ७० प्रतिशत छ । यति धेरै मात्रामा ईभी गाडी बिक्री हुँदा पनि ती गाडीको परीक्षण गर्ने ५ करोडको मेसिन किन्न नसक्नुले सरकार ईभी गाडी आयातकर्ताबाट प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ। सूचना चुहिँदा बजेट अघिमात्रै २५ सय ईभी गाडी रातारात नेपाल भित्रिएका थिए । यसले सरकारी अधिकारीहरूसँग ती व्यापारीको मिलेमतो भएको पुष्टि भएको थियो ।

यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयले मोटर डाइनोमोमिटरको अभावमा ईभी गाडको वास्तविक क्षमता पहिचान गर्न नसकिएको जनाएको छ। सो कार्यालयका एक अधिकृतका अनुसार दुई वर्ष अघिसम्म १ सय ५० किलोवाटकै गाडी आयात गर्ने गरिएको थियो तर अहिले आएर १ सय किलोवाटको गाडी आयात गर्ने गरिएको कागजपत्र पेस हुने गरेको छ, जुन शंकास्पद छ। यस सम्बन्धमा सरकारी निकायबाट आवश्यक छानबिन हुनुपर्ने ती अधिकृतको भनाइ छ।

विद्युतीय गाडीको किलोवाटलगायत त्यसको क्षमता नाप्ने उपकरण खरिद नगरी सरकारी निकायले आयातकर्ताले पेस गरेकै कागजातका आधारमा गाडीको मूल्यांकन गर्ने कार्यले ५ अर्ब रुपियाँभन्दा बढी राजस्व छली भएको हुनसक्ने प्रारम्भिक अनुमान सरकारकै विभिन्न निकायको छ।

यातायात व्यवस्था विभाग स्रोतका अनुसार बीवाईडीका आठ वटा मोडल रहेका छन् । जसमा १,२,३,४ भर्सनका गाडी १५० किलोवाटका र ५,६,७,८ भर्सनका गाडीलाई १ सय किलोवाटका रूपमा चिनाउने गरिएको छ। तर, परीक्षणको अभावमा नेपालमा कुन भर्सनका गाडी आयात गरिन्छ भन्ने स्पष्ट हुन सकेको छैन। यसैको फाइदा आयातकर्ता कम्पनीले उठाइरहेका छन् भने सरकारले राजस्व गुमाइरहेको छ।

निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिनुले आशंका जन्माएको यातायात व्यवस्था कार्यालयका प्राविधिकहरूको दाबी छ। बीवाईडीले किलोवाट घटाएर नेपालमा यस वर्ष करिब ३ हजार गाडी बिक्री गरेको हुन सक्ने अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ।

सोही आधारमा आयात कम्पनी साइमेक्स इंकमाथि छानबिन थालिएको हो। नेपालमा साइमेक्स इंकका मुख्य सञ्चालकको रूपमा यमुना श्रेष्ठ र समीर श्रेष्ठ रहनुभएको छ।

यो पनिे

करको सूचना चुुहाएर बीवाईडीका गाडी आयात

 

प्रतिक्रिया दिनुहोस्