कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, एक घाइते



कास्की ।

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो। गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ।

उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ। पोखरामा गएरातिदेखि वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्