अफगानिस्तानले इतिहास रच्दा अस्ट्रेलिया बाहिरियो



काठमाडौं ।

अफगानिस्तानको पुरुष क्रिकेट टोलीले जारी क्रिकेट टी २० विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रचेको छ।

मंगलबार बिहान बंगलादेशलाई न्यृुन स्कोरको खेलमा डीएल प्रविधिको आधारमा ८ रनले हराउँदै अफगानिस्तान इतिहास कोर्न सफल भएको हो।

अफगानिस्तान कुनै पनि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा यो उपलब्धिमा पुगेको पहिलो पटक हो। अफगानिस्तानले जित्दा उपाधिकै दावेदारी एक अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ।

वेस्ट इन्डिजको सेस्ट भिन्सेट मैदानमा अफगानिस्तानले १ सय १५ रन मात्रै बनाउन सकेको थियो । जितको लागि बलिङ घातक बनाउनु पर्ने दबाब थियो। उता, बंगलादेशको पनि सेमिफाइनलको आस बाँकी नै थियो। अघिल्लो दिन भारतसँग अस्ट्रेलिया हारेपछि २ अंकमा रहेको बंगलादेशको पनि अन्तिम चारको आस ब्युँतिएको थियो।

अफगानिस्तानको लागि अन्तिम चारमा पुग्न जित नै आवश्यक थियो। बंगलादेशले भने १ सय १६ रनको लक्ष्य १२.१ ओभरमा हासिल गरेमा अन्तिम चारमा पुग्ने समीकरण थियो। तर, यो ओभर नाघेर जितेमा भने बंगलादेश आफु पनि बाहिरिने र अफगानिस्तानलाई पनि बाहिर जान बाध्य गर्ने थियो। बंगलादेशले जितेको खण्डमा २ अंक जोडेको अस्ट्रेलियाले अन्तिम चारको स्थान सुरक्षित गर्ने समीकरण थियो।

बंगलादेश जित्ने संकेत अन्तिमसम्म पनि थियो। यो क्षणसम्म शायद, अस्ट्रेलियाली टोलीमा खुशीको लहर आइरहेको थियो होला। अन्तिम ओभरमा नभिनउल हकले बलिङ गरेका थिए। ओपनर लिटन दास अर्धशतक बनाएर क्रिजमा डटिरहेका थिए। जितको लागि अन्तिम १२ बलमा १२ रन चाहिने र २ विकेट बचेको थियो।

बर्षाको कारण खेल १९ औं ओभरमा निर्धारित गरिएको थियो। तर, नभिनले १९ ओभरसम्म खेल जान दिएनन्। उनले इनिङको १८ औं ओभरमै लगातार दुई विकेट लिएर खेल सकाएका थिए। पहिले तीन बलमा ३ रन दिए । ५४ रनमा नटआउट रहेका दास अर्को इन्डमा जानु अफगानिस्तानको लागि जित हासिल गर्न अवसर बनेको थियो।

नभिनले चौथो बलमा तास्किन अहमदलाई बोल्ड गरे। पाँचौं बलमा मुस्ताफिजुरलाई एलबीडब्ल्यूमा आउट गरेपछि अफगानिस्तानले ७ बल बाँकी राखि ८ रनले खेल जितेको थियो। बंगलादेश १८.५ ओभरमा १ सय ५ रन बनाउँदै अलआउट भएको थियो। यो नतिजाले एकदिवसीय क्रिकेट विश्वकप २०२३ को विजेता अस्ट्रेलियाली टोलीलाई घर फर्कन बाध्य तुल्यायो ।

सेमिफाइनल यात्रा

समूह चरणमा बलियो टोली न्युजिल्यान्डलाई हराएपछि अफगानिस्तानको सुपर ८ को यात्रा तय भएको थियो। त्यस्तै, टोलीले सुपर ८ मा आउँदा भारतसँग हारेपनि अर्को बलियो टोली अस्ट्रेलियालाई पराजित गरेर अन्तिम चारको संभाबना बनायो।

यो टोलीको करियरकै सबैभन्दा ठूलो जित पनि हो। यसपछि बंगलादेशलाई हराउनै पर्ने खेलमा हराएपछि राशिद खानको टोली सेमिफाइनलमा पुगेको छ। अब, टोलीले फाइनल पुग्न अर्को बलियो टोली दक्षिण अफ्रिकासँग खेल्नेछ।

पहिलो पटक २०१० मा खेलेको

अफगानिस्तानले पहिलो पटक टी २० विश्वकपमा सन् २०१० मा खेलेको थियो। करिब १४ वर्षपछि अफगानिस्तान सेमिफाइनलमा पुग्न सफल भयो पनि । टोली अघिल्ला विश्वकपदेखि प्रतियोगितामा नियमित रूपमा सहभागिता भइरहेको छ। तर, उनीहरूका लागि भने यसपटकको उपलब्धि भने विशेष नै रह्यो।

तालिबान आएपछि खेलमा अवरोध

सन् २०२१ मा तालिवान सरकार आएपछि अफगानिस्तानको महिला क्रिकेट टोली देश छाडेर गएको थियो। कतिपय महिला खेलाडी लुकेर बस्नुपरेको थियो। पुरुष क्रिकेट खेलाडीले पनि घरेलु मैदानमा कहिल्यै खेलेका छैनन्।

उनीहरूले अफगानिस्तानमा खेल्नुको सट्टा यूएईमा खेलिरहेका छन्। टोलीका धेरै जसो खेलाडी यूएईमै बसेका छन्। सबै जसो टोलीले अफगानिस्तानमा खेल्न अस्विकार गर्दै आएको छ। मार्चमा अस्ट्रेलियाको पुरुष टोलीले तीन खेलको शृंखला खेल्न नमानेपछि दुबईमा खेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्