मामाकै योजनामा भान्जाको २ करोड लुटपाट

गिरोहका ४ जना पक्राउ



काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी भएको बताउँदै भक्तपुरको दधिकोटबाट २ करोड रुपियाँ लुटपाट गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ। उक्त लुटपाटको मुख्य योजनाकार पीडितका सहोदर मामा नै रहेको प्रहरीले दाबी गरेको छ।

दुई हप्ताअघि दधिकोटमा भएको लुटपाटको बारेमा अनुसन्धान शुरू गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त लुटपाटको योजनाका मुख्य योजनाकार कुलबहादुर खत्रीले भान्जा डिल्लीबहादुर राउतको घरमा लुटपाट गर्ने योजना बनाएको महाशाखाका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।

सो टोलीले राउतको घरमा यही असार ४ गते सीआईबीको प्रहरी भन्दै लुटपाट गरेको थियो। दुईवटा मोटरसाइकलमा आएका लुटेराको समूहले राउतको घरबाट २ करोड लुटेको भए पनि प्रहरीले भने ३६ लाखमात्रै बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो।

लुटेको रकम १ करोड जति रकम लिएर मुख्य योजनाकार खत्री भागेको र खत्रीको खोजीलाई तीव्र बनाएको प्रहरीले दाबी गरेको छ। प्रहरीले उक्त चोरी काण्डमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेका सुजन रसाइली र भोटेकोशीका भीमबहादुर तामाङ तथा कृष्णबहादुर बोहरा र ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राईलाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये बोहोरा नेपाल प्रहरीका बहालवाला प्रहरी हवल्दार रहेको पनि प्रहरीले जानकारी दिएको छ। उनी नेपाल प्रहरीमा यसअघि दर्जनपटक कारबाहीमा परेका व्यक्ति भएको पनि महाशाखाले जानकारी दिएको छ।

फरार रहेका खत्री र पक्राउ परेका रसाइली वैदेशिक रोजगारीको सिलसिलामा चिनजान भएको र आफ्नो भान्जाको घरमा ठूलो मात्रामा रकम रहेको बताएपछि लुटपाटको योजना बनेको थियो ।

लुटपाटको रकम तामाङको माकलबारीस्थित कोठामा पुर्‍याएर बाँडफाँट गरेको फेला परेको प्रहरीले जानकारी दिएको छ। लुटिएको रकम तामाङको कोठामा लगेर २०–२० लाख रसाइली, तामाङ र राईले लिएको र ३० लाख रुपियाँ प्रहरी हवल्दार सापकोटाले लिएर गएको देखिएको महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो।

प्रहरीले लुटिएको रकममध्ये १ करोड १० लाख लिएर फरार भएका मामा खत्रीले लुटपाटपछि भान्जाको घरमा पुगेर थप ३५ लाख रुपियाँ लिएर फरार भएको पनि प्रहरीले जानकारी दिएको छ । खत्रीले भान्जालाई यो विषयमा प्रहरीलाई खबर गरे थप क्षति हुने भएकाले त्यसो नगर्न सुझाएर हिँडेको पीडितले प्रहरीलाई बयान दिएका छन् ।

फरार रहेका खत्री र पीडित राउत दुवै जना कन्सल्टेन्सीमार्फत् युरोप तथा अमेरिकामा नेपालीलाई पठाउँदै आएको व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ।

अस्वाभाविक रूपमा पैसा आम्दानी भएपछि बैंकमा पैसा राख्दा राज्यले खोजी गर्न सक्ने भएपछि राउतले नगदै घरमा राखेको आशंका प्रहरीले गरेको छ। प्रहरीले उक्त रकमको स्रोतको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्