नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न



काठमाडौँ।

नेपाली सेनाको सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ। नेपाली सैनिक वार कलेजमा २०८० फाल्गुण १८ गतेदेखि सञ्चालन भएको उक्त तालिम मंगलबार समापन भएको हो।

समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले सफलतापूर्वक तालिम सम्पन्न गर्नु भएकोमा सम्पूर्ण शिक्षार्थी अधिकृतहरूलाई बधाई दिए उनले राष्ट्रको भू-रणनैतिक अवस्थिति, भूमण्डलीकरण र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारक तत्त्वहरूका कारण विकसित समसामयिक जटिल सुरक्षा वातावरणमा आफूलाई प्राप्त सैनिक जिम्मेवारी पेसेवर ढङ्गबाट सम्पन्न गर्नको लागि उच्च तहका सैनिक कमाण्डर तथा स्टाफहरूलाई आवश्यक पर्ने विशिष्ट ज्ञान, सीप र मनोवृत्तिको विकास गर्न यस तालिमको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

प्रधान सेनापति शर्माले बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन दिए ।उनले भविष्यमा विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सेनाको प्रतिनिधित्व गरी सङ्गठनको व्यावसायिक क्षमता र विश्वव्यापी छविलाई कायम राख्दै आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न/गराउन शिक्षार्थी अधिकृतहरूलाई निर्देशन दिए ।

बलाधिकृत रथी अशोकराज सिग्देल, रथीबृन्द तथा अधिकृत लगायत शिक्षार्थी अधिकृतहरुका परिवारजनको उपस्थिति रहेको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी सागर बहादुर थापाले तालिमको बारेमा जानकारी गराएका थिए।

प्राविधिक तथा विविध सेवाका ८ जना र साधारण सेवाका २७ जना गरी जम्मा ३५ जना (महिला-३ र पुरुष-३२) महासेनानी दर्जाका शिक्षार्थीहरूको यस तालिममा सहभागिता रहेको थियो । महासेनानी सुरज लामिछाने समग्रमा तालिममा प्रथम हुनुका साथै उनले (Best Academic Writing Award) समेत प्राप्त गरेका छन् । त्यस्तै गरी महासेनानी खेमराज शर्मा व्यक्तिगत शोधपत्रमा प्रथम भएका छन्।

नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिम वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्