नयाँ मुख्य सचिव नियुक्तिको बाटो खुल्यो

निलम्बित मुख्य सचिवलाई राष्ट्रिय योजना आयोगको जगेडामा राखियो



काठमाडौं ।

भ्रष्टाचार मुद्दा लागेसँगै निलम्वनमा परेका मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी जगेडामा राखिएको छ। सरकारको यो निर्णयसँगै नयाँ मुख्य सचिव नियुक्तिको बाटो खुलेको छ।

आइतबार मुख्य सचिवमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने चर्चा चलेसँगै उहाँले राजीनामा दिने विश्वास गरिएको थियो। तर, मुख्य सचिवले राजीनामा नदिएपछि सरकारले सोहीसरहको अर्को विशेष पद सिर्जना गर्नुपरेको हो।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवसरहको पद सिर्जना गरी निलम्बित अर्याललाई सो ठाउँमा सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै मुख्यसचिव पद रिक्त भएको छ। त्यसैले अब सरकारले रिक्त मुख्य सचिवमा नयाँ व्यक्ति ल्याउन सक्ने कानुनी बाटो खुलेको बताइएको छ।

मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असार ९ गतेको पत्रअनुसार अर्यालको विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएकाले प्रचलित कानुनअनुसार उहाँ स्वतः निलम्बनमा परेको स्पष्ट पार्दै निलम्बनमा परेका अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने निर्णय गरिएको जनाएको छ।

अख्तियारले अन्तःशुल्क स्टिकर प्रकरणमा झण्डै ३९ करोड रुपियाँ अनियमितता गरेको ठहर गर्दै मुख्य सचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यससँगै मुख्य सचिव अर्याल निलम्बनमा पर्नुभएको हो।

अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरी सरुवा गरिएकाले अब उहाँ मुख्य सचिवमा फर्कने सम्भावना भने करिबकरिब अन्त्य भएको छ । विशेष अदालतबाट अर्यालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो हुन केही समय लाग्ने छ। तर, उहाँले सफाइ पाइहालेमा पनि उहाँलाई राष्ट्रिय योजना आयोगकै विशेष पदमा राखिने छ। अर्यालविरुद्ध अख्तियारमा भ्रष्टाचारका अन्य मुद्दाहरूसमेत रहेकाले उहाँमाथि केही मुद्दा खप्टिन सक्ने स्रोतको दाबी छ। यसो हुँदा अर्याललाई पुनः सचिवमा फर्कन निकै नै सकस हुने देखिन्छ।
बक्समा

नयाँ मुख्य सचिव कहिले ?

सरकारले निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरे पनि नयाँ मुख्य सचिव बनाउने बारेमा गृहकार्य अगाडि बढाउन सकेको छैन। निजामती तहको सर्वोच्च पद र सबै कर्मचारीको मुख्य हाकिम भएकाले पनि मुख्य सचिव हुने रहर सबै सचिवमा रहन्छ। यद्यपि, मुख्य सचिव हुन विभिन्न तत्वहरूले काम गर्ने भएकाले जोसुकै सचिवहरू मुख्य सचिव हुन सक्दैनन्। पछिल्ला वर्षहरूमा त सचिवहरू बीचमा नै फोहोरी खेल हँुदा मुख्य सचिव हुने गरी कोरिएको ‘करिअर पाथ’ नै क्षतविक्षत हुन थालेको छ।

मुख्य सचिव पदलाई लामो समयसम्म निमित्त वा कामु बनाउन नहुने भए पनि सरकारले तत्काल नयाँ मुख्य सचिव ल्याउने तयारी गर्न सकेको छैन । मुख्य सचिव आम कर्मचारीको अभिभावक र प्रधानमन्त्रीकै प्रमुख सल्लाहकारको भूमिकामा रहन्छन् । त्यति ठूलो भूमिकामा रहने मुख्य सचिव छिटोभन्दा छिटो ल्याउन प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब छ।

सरकारले निजामती सेवा ऐनअनुसार बहालवाला सचिवहरूमध्ये जेष्ठता र कार्यसम्पादनका आधारमा जोसुकैलाई पनि मुख्य सचिव बनाउन सक्छ । यसका आधारमा हालका गृहसचिव एकनारायण अर्याल, सूचना तथा सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराई मध्येबाट एकजना मुख्य सचिव बन्ने सम्भावना बढी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्