प्रदीप पौडेलको प्रश्न : देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ?



काठमाडौँ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले ‘देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको भन्दै प्रश्न गरेका छन् ।सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री र रक्षामन्त्रीले संसद्मा पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको उनले बताए । उनले बजेटमा पनि धेरै अनियमितता भएको बताए । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयदेखि सबैभन्दा कम बजेट रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरुले बजेट आ–आफ्नै निर्वाचन क्षेत्रमा लगेको उनले बताए ।

सरकारले संसद्लाई असाध्यै हेपेको उनको आरोप छ ।

उनले भने, ‘सरकारले संसद्लाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ? सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कहिले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो ? यो देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? म जवाफ चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्