राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन वडास्तरमा नै गएर गर्न गृहको निर्देशन

546
Shares

काठमाडौं ।

गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडा स्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।

जेष्ठ नागरिक र अशक्तहरूलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सकभर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृहले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन दिइएको हो । प्रशासन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरूलाई अशक्तको हकमा तत्काल र अन्यको हकमा पहिले आउनेले पहिला सेवा पाउने व्यवस्था गर्न पनि सबै जिल्लामा पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले जानकारी दिए।

सरकारले आउँदो साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नम्बर अनिवार्य गरेको छ। उक्त निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको भिड छ। गृहले २८ जिल्लामा ४ सय ३८ जना विवरण दर्ता अपरेटर खटाएको जनाएको छ ।