मुख्य सचिव पद लामो समयसम्म निमित्त राख्न नहुने

लीलादेवी गड्तौला बनिन् निमित्त मुख्य सचिव, को बन्ला अबको मुख्य सचिव ?



काठमाडौं ।

वर्तमान मुख्य सचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बन भएसँगै अब नयाँ मुख्य सचिव नियुक्त गर्नुपर्ने आवाज उठ्न थालेको छ।

भ्रष्टाचार प्रकरणमा परेर निलम्बन भएकाले अर्यालको मुद्दाको टुंगो लाग्न धेरै समय लाग्न सक्छ। त्यतिबेलासम्म मुख्य सचिवजस्तो महत्वपूर्ण पदलाई निमित्तको भरमा राख्न नहुने प्रशासनविद्हरूको सुझाव छ।

हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सबैभन्दा जेष्ठ सचिवका रूपमा रहनुभएकी कानुन सचिव लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नयाँ मुख्य सचिवका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दल तथा आफूनिकटहरूसँग छलफल थाल्नुभएको छ। स्रोतका अनुसार मुख्य सचिवजस्तो महत्वपूर्ण पदलाई लामो समयसम्म रिक्त राख्न हुँदैन भन्ने विषय प्रमुख रूपमा उठेकाले नयाँ मुख्य सचिव छिटोभन्दा छिटो नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब पर्न थालेको छ।

हाल निलम्बित हुनुभएका मुख्य सचिव अर्यालका विरुद्ध अख्तियारमा टेरामेक्स तथा बिलिङ प्रकरणमा भएको अनियमितताका बारेमा समेत छानबिन जारी छ। अर्यालमाथि अर्को मुद्दासमेत खप्टिन सक्ने भएकाले उहाँ विशेष अदालतबाट सफाइ पाएर फर्कन कठिन हुने बताइएको छ।

त्यसैले पनि निलम्बित मुख्य सचिव अर्याललाई सरकारले विशेष दरबन्दी सिर्जना गरेर सोही हैसियतबराबरकै पद सिर्जना गरी जगेडामा राखेर नयाँ मुख्य सचिव नियुक्त गर्नुपर्ने दबाब प्रधानमन्त्रीमाथि पर्न सक्ने बताइएको छ।

मुख्य सचिव पद रिक्त रहेमा जेष्ठता र कार्यसम्पादनका आधारमा सरकारले जोसुकैलाई पनि नयाँ मुख्य सचिव बनाउनसक्ने कानुनी प्रावधानअनुसार अबको मुख्य सचिव तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, एकनारायण अर्याल र दिनेश भट्टराईमध्ये एकजनाबाट हुन सक्ने सम्भावना देखिएको छ।

यीमध्ये कार्यसम्पादन र क्षमताको आधारमा एकनारायण अर्याल र रामकृष्ण सुवेदी अग्रपंक्तिमा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवको रूपमा रहँदा अर्यालले धेरै सुधारका कार्यहरू गरेकाले पनि अर्याल नै प्रधानमन्त्रीको छनोटमा पर्नसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो।

सचिवहरू कृष्णहरि पुष्कर, मधु मरासिनीमध्येबाट समेत मुुख्य सचिव बन्न सक्ने चर्चा चल्न थालेको छ। यद्यपि, तत्काल उहाँहरूको सम्भावना भने न्यून छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कुनै जेष्ठ सचिवलाई कामु मुख्य सचिव बनाउने सम्भावना पनि छ । त्यसो भएमा सबैभन्दा जेष्ठ रहेका सचिव तोयानारायण ज्ञवाली नै कामु मुख्य सचिव बन्न सक्ने स्रोतको दाबी छ ।

राजीनामा दिने तयारीमा थिए तर रोकिए

स्रोतका अनुसार मुख्य सचिव डा. बैकुण्ठ अर्याल आइतबार आफूविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने जानकारी पाएपछि शुरूमा राजीनामा दिने मनस्थितिमा पुग्नुभएको थियो।

सोहीअनुसार उहाँले राजीनामा पत्र लिएर प्रधानमन्त्रीलाई भेट्नसमेत पुग्नुभएको थियो तर कसैले उहाँलाई राजीनामा नदिन र कानुनी लडाइँ लड्न सुझाव दिएपछि उहाँ राजीनामा दिनबाट पछि हट्नुभएको थियो।

‘अदालतबाट मुद्दा जित्न सकिन्छ, किन राजीनामा दिने भन्दै केही पक्षले उहाँलाई उक्साउने काम गरेकाले राजीनामा रोकियो र बहालावाला मुख्य सचिवमाथि नै मुद्दा दायर हुने अप्रिय स्थिति आयो’ –स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्