अमेरिकालाई हराउँदै इङल्याण्ड विश्वकपको सेमिफाइनलमा



काठमाडौं ।

इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समूह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो। इङल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाएका थिए। त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुँदै ११५ रन मात्र बनाएको थियो।

अमेरिकालाई अल आउट गर्ने क्रममा इङल्याण्डका बलर क्रिस जोर्डनले १९औ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए।

यो जितपछि इङल्याण्डको सुपर आठको समूह २ मा ३ खेलमा ४ अङ्क भएको छ र शीर्ष स्थानमा उक्लिँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। त्यस्तै अमेरिकाले भने सुपर आठका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्