सिछुवान–नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलन

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा समेत नयाँ उचाइ : विमला घिमिरे



काठमाडौं ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा समेत नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

सिछुवान–नेपाल प्राविधिक सहकार्य प्रवद्र्धन सम्मेलनलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा सम्वोधन गर्दै उहाँले द्विपक्षीय सम्बन्ध पारस्परिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदान प्रदान माध्यमबाट महत्त्वपूर्ण आयाम प्रदान गरेको बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले भन्नुभयो–चीनले नेपालका विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण सहयोग पुयाउँदै आएको छ । चीनको आर्थिक–सामाजिक विकास निकै लोभ लाग्दो र अनुकरणीय  छ । सूचना र प्रविधिको चमत्कारी विकासका दृष्टिले विश्व एक गाउँमा रूपान्तरण हुँदै गएको प्रसङ उल्लेख गर्दै उहाँले चीनसँग नेपालको दिगो र सन्तुलित विकासको लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताउनुभयो ।

नेपाल पनि छिट्टै अति–कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने चरणमा रहेको अवस्थामा  यस यात्रालाई सार्थक बनाउन चिनिया सहयोग निकै नै महत्त्वपूर्ण र आवश्यक रहेको बताउँदै उहाँले चिनियाँ सहयोगको दायरा अझै फराकिलो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन, सिचुवान प्रान्तीय समितिका उपाध्यक्ष से साङह्वाले  चीन र नेपाल एकअर्कालाई सम्मान र विश्वास गर्ने असल मित्र, असल साझेदार र असल छिमेकी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा सिचुवान–नेपालको सम्बन्ध निरन्तर उकालो लागेको छ, आर्थिक र व्यापारिक सहयोग झन् घनिष्ठ भएको छ, सांस्कृतिक आदान–प्रदान र सहयोगले सकारात्मक नतिजा हासिल गरेको  ।सिचुआन र नेपाल हिमाल र नदीहरूले जोडिएकोे ऐतिहासिक सम्बन्ध  रहेको उल्लेख गर्दै उपाध्यक्ष साङह्वाले हामी नेपालसँग विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

सिचुआन र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्ने कार्यक्रम  मार्फत नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष साङह्वालले भन्नुभयो–विज्ञान, प्रविधिको क्षेत्रमा सिचुआन–नेपाल सहयोग प्रवर्धन गर्न दोस्रो ‘बेल्ट एन्ड रोड’ विज्ञान तथा प्रविधि आदानप्रदान तथा सहयोग सम्मेलनले दुवै मुलुकबिच विज्ञान, प्रविधि, अर्थतन्त्र, व्यापार र मानविकीका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न भूमिका खेल्नेछ ।”

नेपालका लागि चीनका राजदूत छेन सोङले चीन र नेपाल रणनीतिक साझेदार र मित्रवत् छिमेकी भएकाले चीनले नेपालसँगको आफ्नो सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभयो । उहाँले हालैका वर्षहरूमा सिचुआन प्रान्त र नेपालबीचको वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोग झनै नजिक भएकाले दुवै पक्षलाई पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन राम्रो आधारशिला खडा गरेको बताउनुभयो ।

विज्ञान र प्रविधि चीन निर्माणको जग र राष्ट्रिय समृद्धिको आधार भएको बताउँदै राजदूत  सोङले हालैका वर्षमा चीनले विज्ञान र प्रविधिमा आत्मनिर्भर र परिष्करणको प्रयासलाई तीव्रता दिएको बताउनुभयो । चीनले अनुसन्धान तथा विकासमा गर्ने लगानी विश्वमा दोस्रो स्थानमा रहेको र अनुसन्धान र विकासमा संलग्न जनसंख्या संख्याको हिसाबमा विश्वमा पहिलो स्थानमा रहेको सो अवसरमा जानकारी दिइयो ।

नवप्रवर्तन–संचालित विकास रणनीतिमा निरन्तर गतिशील हुँदै जाँदा चीन नवप्रवर्तनशील देशहरूको सूचीमा प्रवेश गरेको समेत  उल्लेख गरियो । चीनको वैज्ञानिक र प्राविधिक शक्तिको सुधारले चिनियाँ जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि फाइदा पु¥याइरहेको प्रसङग उल्लेख गर्दै राजदुत छेन सोङले हाल चीनले १६० भन्दा बढी देश र क्षेत्रहरु संग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरेको जानकारी दिनुभयो ।

राजदूत सोङले चीनले अन्य देशहरूसँग अझ खुला रूपमा वैज्ञानिक र प्राविधिक र नवप्रवर्तन सहयोगलाई सुदृढ गर्दै नेपाललगायतका विकासशील मुलुकसँग वैज्ञानिक र प्राविधिक विकासको लाभांश बाँड्ने काम जारी राख्ने बताउनुभयो ।

चीन–नेपाल वैज्ञानिक र प्राविधिक सहयोगले लोकप्रिय रहेको  जनाउँदै उहाँले विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न र मानव जातिको साझा भविष्यको साथ साझा समुदाय निर्माण गर्न दुवै पक्षको संयुक्त प्रयासको ज्वलन्त प्रतीक  स्पष्ट गर्नुभयो ।

राजदूत सोङले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, ‘बेल्ट एन्ड रोड’ को उच्च गुणस्तरको संयुक्त निर्माणलाई अवसरका रूपमा लिन, सहयोगका बिन्दुहरू विस्तार गर्न र सहयोगका लागि नयाँ गतिको विकास गर्न नेपाली जनताको हितमा चीन नेपालसँग काम गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले विज्ञान र प्रविधिले कुनै पनि समाज र कुनै पनि देशको समृद्धि र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा नेपाल पनि त्यसबाट अपवाद हुन नसक्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो–कृषि, सौर्य ऊर्जा, अटोमोबाइल, डाटा विज्ञान, उत्पादन मेसिन र उपकरण लगायत नयाँ ऊर्जा चीनले कुशल प्रविधिको विकासमा चमत्कार गरेको छ भने यता नेपाल नवीकरणीय ऊर्जा, उच्च मूल्यका कृषि बाली, औषधीय जडीबुटी, तथ्याङ्क विज्ञान लगायतका कृतिम विकास गर्ने अपार सम्भावना छ ।

त्यसअवसरमा चिनियाँ प्रतिनिधि मण्डलमा सहभागी विज्ञान तथा प्रविधि, प्रविधि अनुसन्धान, कृषि सूचना तथा ग्रामीण अर्थतन्त्र, अन्तर्राष्ट्रिय सहयोग आदान प्रदानका क्षेत्रमा कार्यरत विषय विज्ञले आ–आफना क्षेत्रबाट नेपालमा हुन सक्ने सहयोग र लगानीको सम्भावनाबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्