‘लोकतन्त्रमा जनतालाई गोली ठोकेर हत्या गर्ने अधिकार निकुञ्जका सुरक्षाकर्मीलाई कस्ले दियो’



हेटौंडा ।

सेनाको गोली लागेर हेटौंडामा एक जनाको ज्यान गएपछि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आक्रोशित देखिएका छन् । उनले ‘लोकतन्त्रमा दिनदहाडै जनतालाई गोली ठोकेर हत्या गर्ने अधिकार निकुञ्जका सुरक्षाकर्मीलाई कस्ले दियो’ भन्दै यसो गर्नु न्यायसम्मत् नभएको बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार उनले पर्सा राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीको गोली प्रहारबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ निवासी करिब ५४ वर्षीय सुकुबहादुर तितुङको मृत्यु भएको घटनाको निन्दा गरे । उनले असाध्य दुःखद् घटना भन्दै घटनामा दोषी देखिएका सुरक्षाकर्मीलाई तत्काल आवश्यक कारबाही र पीडितको न्यायका लागि माग गरे । ‘सामान्य मानवीयतासमेत नराखी गोली ठोकेर मारिएको छ,’ उनले संसदमा भने–उक्त क्षेत्रमा जंगली जनावरले बालीनालीमा क्षति गर्ने गरेका छन् । नागरिक हेरेकोहे¥यै छन् । तितुङको घरनजिक जंगल जोडिएको छ ।

नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ । सेनाको गोली प्रहारबाट बँदेलधापका तितुङको मृत्यु भएको भन्दै शनिबार हेटौंडामा आकस्मिकरुपमा बसेको सर्वपक्षीय बैठकले घटना छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको सभाध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले पर्सा वन्यजन्तु निकुञ्जबाट खटिएका नेपाली सेनाका सुरक्षाकर्मीबाट गोली प्रहार गरी तितुङको शुक्रबार मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।

बैठकले पीडित पक्षलाई न्याय दिलाउन राजनीतिक दललगायत सबै पक्षबाट पहल गर्न ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ । बैठकमा प्रतिनिधिसभा–१ का सदस्य दीपकबहादुर सिंह, वागमती प्रदेशका ऊर्जा, खानेपानी तथा सिचाईं मन्त्री एकालाल श्रेष्ठ, नगर उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीच ‘मुठभेड’ हुँदा मृत्यु भएको सेनाको दाबी छ । सेनाले गोली चलाएपछि अन्य फरार भएको दाबी गरिएको छ । निकुञ्जले घटनाको पुष्टि गरेको छ । घटनास्थलमा हातहतियारसहित केही झोला भेटिएको सेनाको अर्को दाबी छ ।

जंगली च्याउले एकको मृत्यु

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–७ स्थित दगुबाङमा तरकारीका रुपमा जंगली च्याउ खाएकामध्ये एक जनाको मृत्यु भएको छ । उक्त तरकारी खाएका परिवारका अन्य ४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

मृत्यु भएकामा करिब ४५ वर्षीय दलबहादुर चेपाङ रहेको वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । गम्भीर अवस्थाकालाई भरतपुर अस्पताल पु¥याइएको छ । मृतक दलबहादुरकी पत्नी जालीमाया, छोरी रेञ्जु, सबिना र छोरा सुशीललाई भरतपुरस्थित सरकारी अस्पताल लगिएको हो । उक्त गाउँका चेपाङ समुदाय छाक टार्न जंगली च्याउ खाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्