मनसुनजन्य विपद् उद्धारका लागि सशस्त्र प्रहरीको अस्थायी क्याम्प 



काभ्रे।

धनेश्वर मन्दिर नजिकै रहेको सुरक्षण मुद्रण प्रेस बनिरहेको भवनसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेको मनसुनजन्य विपद् उद्धार अस्थायी वेश बसेको छ ।

२०८१ असार २ गते देखि पनौती नगरपालिका वडा नम्बर ५ स्थित साबिकको आइटी पार्क हालको सुरक्षण मुद्रण प्रेस रहेको भवनमा सशस्त्रको टोली बसेको हो । टोलीले बनेपा आसपास तथा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा हुने मनसुन विपदमा उद्धार गर्नेछ । सशस्त्र प्रहरी निरीक्षक विदुर कार्कीको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीहरुको उद्धारका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सहितको टिम तयारी अवस्थामा रहेको छ । सशस्त्र प्रहरीले जनशक्ति सहित आवश्यक पर्ने उद्धारका सामाग्रीहरु पनि तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख र सञ्चालन हुने गरी अस्थायी क्याम्प उक्त स्थानमा बस्न सुरु गरेको हो ।

पाँचखालमा रहेको हेडक्वाटरबाट उद्धारका लागि खटिनु पर्दा सडक र दुरीका हिसावले समेत कठिनाई भएकाले सुरक्षण मुद्रण प्रेसमा अस्थायी क्याम्पका रुपमा बस्नु परेको सशस्त्र प्रहरीले बताएको छ । प्रहरीले मनसुनजन्य विपद्का लागि टोल फ्रि नम्बर १११४ उपलब्ध गराएको छ भने ०११–४९९३२० मा फोन गर्न सक्ने व्यवस्था मिलाएको छ । नेपाल प्रहरीको १०० नम्बर तथा आवश्यक स्थानमा फोन गरेर संकटमा उद्धारका लागि खबर गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्