अस्ट्रेलियालाई हराएपछि कप्तान राशिदले भने- हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं



काठमाडौँ ।

जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ ।

शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित आफूहरूको लागि अहिलेसम्मको ठुलो जित भएको टिप्पणी गरेका छन् ।

उनले खेलपछि भने- ‘यो टोली र देशका रूपमा ठूलो जित हो । हामीले पछिल्लो दुई वर्षमा यस्तो जितलाई धेरै पटक गुमायौं । हामी २०२२ र २०२३ को विश्वकपमा केहि रनले जितबाट बन्चित भयौं ।’
कप्तान राशिदले यस खेलमा खेलाडीको खेलप्रति आफूलाई गर्व रहेको बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । हामीले यस खेलका लागि १४०  रनको राम्रो स्कोर हो भन्ने सोचेका थियौं, तर हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं । यो यस्तो विकेट हो जहाँ तपाइँ कहिलेकाहीं संघर्ष गर्नुहुनेछ र हामीले अन्त्यमा संघर्ष गर्‍यौं ।’

उनले यस खेलमा सबैभन्दा महत्त्वपूर्ण ओपनरहरूले राम्रो सुरुवात दिएको बताए । अस्ट्रेलिया विरुद्ध अफगानिस्तानका ओपनर रह्मतुल्लाह गुरबाज र इब्राहिम जद्रानले ११८ रनको साझेदारी गरेका थिए ।  उनले आफूहरू यस खेलमा १३० भन्दा माथिको जुनसुकै स्कोरलाई सजिलै रक्षा गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘हाम्रो लागि यो सुरुवात मात्र हो, अगाडि ठूलो खेल छ । र हामी सेमिफाइनल पुग्ने पूरा आशा राख्छौं ।’

विश्वकपको सुपर आठमा अब अफगानिस्तानले मंगलबार बिहान बंगलादेशको सामना गर्दै छ । सो खेलमा जित हासिल गरेमा अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्