इजरायली सैनिकको ज्यादती- घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडी बाँधियो



काठमाडौँ । 

इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको हुटमा अगाडि बाँधेको दृश्य अहिले भाइरल भएको छ । इजरायली सेना वेस्ट बैंकको वादी बुर्किन क्षेत्रमा केही प्यालेस्टाइनीहरूलाई पक्रन गएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार कारवाहीका क्रममा सेना र प्यालेस्टिनीबीच गोली हानाहान भएको थियो । यस क्रममा एक जना प्यालेस्टाइनी घाइते भएका थिए । यसपछि सैनिकहरूले घाइते प्यालेस्टिनीलाई क्षेत्रबाट बाहिर निकाले । उनीहरुले जिपको अगाडि बाँधे । तर, पछि उनलाई संयुक्त राष्ट्रको रेड क्रिसेन्ट टोलीलाई सुम्पियो ।

बीबीसीका अनुसार प्यालेस्टिनीको नाम मुजाहिद आजमी थियो । इजरायली रक्षा बलले यस कुराको पुष्टि गर्दै अनुसन्धानको आदेश दिएको छ । भिडियोमा देखिएका कुराआदेशविपरीत भएको बताउदै इजरायली रक्षा बलले यसको छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने बताएको छ ।

घाइते प्यालेस्टिनीका परिवारले इजरायली सेनासँग एम्बुलेन्स मागेको बताएका छन् । तर उनीहरूले प्यालेस्टिनीलाई जिपको बोनेटमा बाँधेर त्यहाँबाट भागे । यसअघि शनिबार केही बन्दुकधारीले वेस्ट बैंकको कल्किल्या क्षेत्रमा एक इजरायली नागरिकको हत्या गरेका थिए । त्यसपछि उनको गाडीमा आगजनी गरिएको थियो । यो कुरा बाहिर आएपछि ठूलो संख्यामा इजरायली सैनिक त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्