आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन



काठमाडौं ।

आन्दोलनरत संसद सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि सहजिकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको प्रधानमन्त्री र प्रमुख दलका नेताहरुको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेका छन्। अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए।

बैठकमा मुख्य सचिव डा. वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्