८ लाख ५० हजारभन्दा बढी ठगीको अभियोगमा पूर्वडीएसपी शर्मा पक्राउ



काठमाडौं ।

६० किलो सुन प्रकरणमा पक्राउ परेका पेवेल मनि एक्सचेन्ज प्राइभेट लिमिटेडका सञ्चालक तथा कर्मचारीलाई छुटाइदिने भन्दै ८ लाख ५० हजार रुपियाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा पूर्वडीएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

नेपाल प्रहरीभित्र विवादास्पद छवि बनाएका शर्माले यसअघि पनि यस्तै खाले ठगी गर्दै आएको भए पनि प्रहरीबाट बच्दै आएका थिए।

पछिल्लो पटक पूर्वडीएसपी शर्माले ६० केजी सुन प्रकरणमा भुक्तानीमा जोडिएका पेवेल मनि एक्सचेन्ज प्रालिका सञ्चालक तथा कर्मचारीलाई छुटाउन आफूले सीआईबीका उच्च प्रहरी अधिकृतलाई मिलाएको र त्यसवापत रकम लाग्ने भन्दै ठगी गरेको फेला परेपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

पेवेल मनि एक्सचेन्ज प्रालि र सजिलो पे प्रालिमार्फत् ६० किलो सुन अवैध रूपमा नेपाल भित्र्याउने गिरोहले झण्डै २ अर्व रुपियाँ पैसा पठाएको देखिएपछि सीआईबीले ती दुवै मनि एक्सचेन्ज प्रालिका सञ्चालक तथा कर्मचारी गरी ८ जनालाई पक्राउ गरेको थियो।

सोही मुद्दालाई लिएर पूर्वडीएसपी शर्माले सीआईबीका प्रमुख एआईजी श्याम ज्ञवालीदेखि अन्य अधिकृतसम्मलाई आफूले भेटेको र मुद्दा मिलाउन पैसा चाहिने भन्दै ठगी गरेको पाइएको सीआईबीले जनाएको छ। शर्मासँगै प्रहरीले झविन्द्र खत्रीलाई पनि पक्राउ गरेको छ। खत्रीले पनि पूर्वडीएसपी शर्मासँग मिलेर ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी संगठनमा हुँदा शर्माले भारतबाट पेसेवर अपराधीलाई नेपाल बोलाउने र उनीहरूबाट बिभिन्न व्यक्तिलाई फोनमार्फत् धम्की दिन लगाएर रकम असुल गर्ने गरेको आरोप लाग्ने गरेको थियो । पूर्वडीएसपी शर्मामाथि तराईका जिल्लामा रहेका विभिन्न उद्योग तथा कलकारखानामा बम राख्न लगाएरसमेत हप्ता असुली गर्ने गरेको आरोप लाग्ने गरेको थियो।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न रहेका शर्माले विभिन्न विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्