सहिद देशका साझा सम्पत्ति हुन : मन्त्री शर्मा



धनगढी ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।

ज्नयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

सहिद हुनुअघि उनीहरु कुनै एउटा पक्षमा लागेको भए पनि सहिद भइसकेपछि देश र जनताको साझा सम्पत्ति भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकारले सहिदको रुपमा स्वीकार र सम्मान गरिसकेका व्यक्तिहरु अब कुनै पक्ष वा दलको नभई देशकै सहिद भएको स्पष्ट गर्नुभयो ।

सरकारले राणा शासनदेखि राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाको आन्दोलन तथा देशमा चलेका अन्य सबै मुक्ति आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई सहिदको रुपमा सम्मान गरिसकेकाले उनीहरु सबै देशका साझा सहिद भएको पनि स्पष्ट गर्नुभयो ।

विभिन्न आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई बेलाबेलामा सरकारले सहिद घोषणा गरे पनि राजपत्रमा नामावली प्रकाशन नगर्दा सहिदको सम्मान दिन समस्या भएकाले गत वर्ष मात्रै सरकारले सम्पूर्ण सदिहरुको नामावली राजपत्रमा प्रकाशन गरेकाले अब कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो । सहिद देशका साझा सम्पत्ति भएकाले सहिद परिवारसँग सबैले सम्मानजनक व्यवहार गर्नुपर्ने र भौतिक तथा मानवीय विकासका सवालमा पनि सहिद वस्तीहरुलाई नमूनाको रुपमा विकास गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो ।

सहिदकै बलिदानका कारण आजको मुलुक आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उहाँले जसका कारण सदियौंदेखि उत्पीडनमा पारिएका भूइँमान्छेहरु राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको स्पष्ट गर्नुभयो । ‘हिजो लैंगिक रुपमा अपहेलित महिलाहरु, जातीय रुपमा दबाइएका दलित, जननजातिहरु, कर्णालीबासी, मधेशी लगायत उत्पीडित समुदायबाट हामी वडादेखि संघीय सदन र सरकारसम्म जसरी राज्य सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेका छौं, यो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल होे’, मन्त्री शर्माले भन्नुभयो, ‘यो हजारौं सहिद, बेपत्ता तथा घाइते यौद्धाहरुकै संघर्षको प्रतिफल हो, यसलाई कसैले पनि कम आँकलन गर्नुहुँदैन ।’

त्यस्तै मन्त्री शर्माले धनगढीकै बेलीमा कार्यकर्ता भेटघाट गर्दै नेता, कार्यकर्ता र जनताको सम्बन्ध नङ मासुको जस्तै हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादीका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले कम्युनिष्ट पार्टीको मुख्य चरित्र साझापन र समान व्यवहार भएकाले नेता, कार्यकर्ता र जनताको सम्बन्धमा ध्यान दिनुपर्ने बताउनुभयो ।

जिम्मेवारीका कारण कोही नेता, कोही कार्यकर्ता र कोही जनता भए पनि समाजमा सबैको समान हैसियत भएकाले नेताले दिने र कार्यकर्ता वा जनताले लिनेभन्दा पनि सबै मिलेर समस्या समाधान गर्ने कम्युनिष्ट शैली अपनाएर मात्रै अघि बढ्न सकिने स्पष्ट गर्नुभयो ।

पछिल्लो समय नेता, कार्यकर्ता र जनताको बीचमा सम्बन्ध र सहकार्य कम भएको गुनासो आउन थालेको उल्लेख गर्दै उहाँले सरकार वा पार्टी संगठनमा रहेका सबै नेता कार्यकर्ता समान हैसियतमा पार्टीप्रतिको अपनत्व लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्