अभियन्ता भीमबहादुर श्रेष्ठको जीवनी “स्मृतिमा भीमबहादुर” सार्वजनिक



काठमाडौं ।

ताप्लेजुङको शिक्षा, सिंचाई, मन्दिर, पोखरी निर्माणलगायतका विविध सामाजिक क्षेत्रका अग्रणी अभियन्ता भीमबहादुर श्रेष्ठको जीवनी “स्मृतिमा भीमबहादुर” सार्वजनिक भएको छ ।

भीमबहादुर श्रेष्ठ, स्मृति ग्रन्थ प्रकाशन समितिद्वारा विहिवार राजधानीमा आयोजित कार्यक्रममा उक्त पुस्तकको पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ, सांसद सुशिला श्रेष्ठ, लीला बोखिमलगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले ताप्लेजुङको भानु स्कुल स्थापनामा विशेष भूमिका निर्वाह गरेका सामाजसेवी भीमबहादुर श्रेष्ठले शिक्षा क्षेत्रको उन्नयनका लागि दार्जजिलङसम्मै पुगेर शिक्षक खोजेर ल्याउने, शिक्षकलाई तलबभत्ता खुवाउन, स्कुल भवनहरु चन्दा सङ्कलन, धर्मभकारीको स्थापना गरेर अनिकालको समयमा स्थानीयलाई अन्नको अभाव हुन नदिनेलगायतका थुप्रै कामले त्यत्तिबेलाको समयमा पनि ठूलो चेतना भएको व्यक्तिको पहिचान बनाएको बताए ।

उनले सामान्य परिवारमा जन्मिएर शिक्षा, स्वास्थ्य, सिंचाइको व्यवस्थालाई चन्दा, थोरै सरकारी अनुदानलाई पनि श्रमदानको संस्कृतिसँग जोड्दै विकास गर्न सक्ने व्यक्तित्वका कारण ताप्लेजुङबासीले शिक्षा र अन्य सुविधासहित अगाडि बढ्ने बाटो देखाएको बताए ।

सांसद सुशिला श्रेष्ठले शिक्षाको महत्वलाई बुझेका भीमबहादुर श्रेष्ठले वि.स.२००९ देखि नै ताप्लेजुङको पहिलो फोटोग्राफरको रुपमा समाजसेवासँगै व्यवसायलाई अगाडि बढाउन उनको अर्धाङ्गिनी इन्द्रकुमारी (कृष्णलक्ष्मी) को पनि महत्वपूर्ण भूमिका रहेको बताइन् ।

उनले सफल पुरुषको पछाडि महिलाको योगदान पनि हुन्छ भने सफल महिलाको पछाडि पनि पुरुषको उत्तिकै योगदान हुने विचार व्यक्त गर्दै आफ्नो पारिवारिक नाता समेत पर्ने भीमबहादुरको अभियान र योगदानले त्यत्तिबेला शिक्षाको मात्र ज्योति छरेन, राजनीतिकलगायत विविध क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिएको बताएकी छन्।

सांसद लीला बोखिमले तत्कालिन समयमा भिमबहादुर श्रेष्ठलगायतको योगदानले गर्दा ताप्लेजुङबाट विविध क्षेत्रमा शिक्षित जनशक्तिलगायत अभियन्ता, राजनीतिक नेतृत्व गर्न सक्ने व्यक्तित्वहरु आज पर्यन्त जन्मिरहेको बताइन् ।

पुस्तकका सम्पादक टंक श्रेष्ठले वि.स. १९८३ मा जन्मिनुभएका भीमबहादुर श्रेष्ठले सामाजसेवा र राजनीतिक माध्यमबाट उनको जीवनकालमा गरेको कामको विवरण नै निक्कै लामो रहेको चर्चा गर्दै शिक्षालाई विशेष महत्व दिएर भानु माविको स्थापनादेखि पाथीभरा क्याम्पस, बालसुबोधिनी संस्कृति मावि, विरेन्द्र माविमा समेत विविध पदमा रहेर योगदान दिएको बताइन् ।

उनले समाजसेवी भीमबहादुर श्रेष्ठको जीवनीबारे बोल्दै उनी छोटो समयको लागि लाहुरे समेत भएको, वि.स. २००९ सालमै व्यवसायिक फोटोग्राफर, वि.स २०१८ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा फुङ्लिङ गाउँपञ्चायत वडा ५ का अध्यक्ष, वि.स.२०२० र वि.स. २०३४ सालको निर्वाचनमा फुङलिङ गाउँपालिकाको प्रधानपञ्च पदमै निर्वाचित भएर गाउँको भौतिक विकासमा समेत योगदान दिएको बताए ।

पूर्व प्रधानअध्यापक तुलाराम गुरुङले भीमबहादुर श्रेष्ठले आफुलाई स्कुलको शिक्षकको नियुक्ती हातैले लेखेर दिदा तलब ११० रुपियाँ रहेको स्मरण गर्दै उनले शिक्षकको जागिरमा संलग्न गराएदेखि आफुले ४० वर्ष शिक्षा क्षेत्रकै सेवामा विताएको स्मरण गरे ।

अन्तरपुस्ता महिलाबादी मञ्चका संस्थापक सदस्य शरु जोशीले शिक्षालाई विशेष महत्व दिने, समाजसेवा, परिवार, व्यवसायलाई समानान्तर रुपमा अगाडि बढाउने, उच्च शिक्षा र तालिमका लागि सधैं हौसला दिने ससुराबुवा भीमबहादुरको अभियानका बारेमा तत्कालिन समयका समकक्षी र पछिल्लो पुस्ताले समेत सम्झीरहने योगदानी व्यक्तित्वको रुपमा सधैं सम्झिरहने बताइन् ।

उनले आफ्ना ससुरा बुवा भीमबहादुरको निधनको भएको आठ वर्षपछि प्रकाशित “स्मृतिमा भीमबहादुर” पुस्तकमा एकसय जना व्यक्तित्वको लेख÷रचना समावेश गरिएको बताए ।

भीमहादुर श्रेष्ठले सीचाईको लागि सरकारको सहयोग र श्रमदान गरेर कुलो निर्नाण गरेकाले स्थानियबासीले त्यस कुलोको नाम भीम बहादुर कुलो राखेका छन् । ताप्लेजुगंको फुगॅलीगमा त्तकालीन राजा बिरेन्द्रको ठुलो तस्बीर राखेपछी त्यस स्थानको नाम विरेन्द्र चोक रहन गएको हो ।

प्रतिक्रिया दिनुहोस्