मेलम्ची खानेपानी आजदेखि बन्द



काठमाडौं

आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खा याममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द गरिने भएको हो।

मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गर्न लागिएको हो। योसँगै उपत्यकावासी आजदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्।

मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्ने गरी तयारी गरिएको खानेपानी विकास समितिले जनाएको छ।

मनसुनको जोखिम सकिएपछि मात्रै उपत्यकामा मेलम्चीको पनि पुन: वितरण गरिने भएको छ। मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो। मनसुन अक्टोबरको पहिलो सातामा बाहिरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्