आईपीभी खोप लगाउन छुटेकालाई पुनः लगाइने



काठमाडौं ।

जनस्वास्थ्य कार्यालय काठमाडौंले पोलियोविरुद्धको ‘आईपीभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ। गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

‘काठमाडौंमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ’, उहाँले भन्नुभयो– ‘त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछौं।’ उहाँका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उहाँले खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताउनुभयो।

काठमाडौं जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार ३ सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार ९ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइएको थियो। सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।

खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्