लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस 

योगले आत्म-ज्ञान हासिल गर्न र मानसिक सन्तुलन कायम गर्न टेवा पुग्छ : मुख्यमन्त्री महरा



बुटवल।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदूतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहीबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म– अन्वेषण र समग्र स्वास्थ्यको महत्त्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताए । योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्‍याउँछ’ उनले भने।

योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने भन्दै मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले योगका फाइदाहरूलाई स्विकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धी पहलहरूमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न समेत आग्रह गरे।

यस प्राचीन अभ्यासको रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा  खुसी र आनन्द भएको समेत बताए । कार्यक्रमले नेपाल र भारतविचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दूतावासलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा यसले पर्यटन प्रवद्र्धन गर्ने बताए । उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन सुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाइदा गर्ने बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरुको मुख्य गन्तव्य बनाउनुपर्ने बताए । उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकीकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदूतको ध्यानाकर्षण गराए ।

उनले नाकामा पर्यटकहरुले दुःख पाइरहेको गुनासो आउने गरेको तर्फ संकेत गर्दै मुख्यमन्त्री र राजदूतको ध्यानाकर्षण गराएका हुन्  । राजदूत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री ह«देश त्रिपाठी, देवेन्द्रराज कंडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलवस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थनीयहरुको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्