छायाँनाथ रारा नगरपालिका मेयरद्वारा उपमेयर मल्लमाथि निर्घात कुटपिट, अस्पतालमा उपचार हुँदै



मुगु। 

मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले आफ्नै नगरकी उपमेयर ऐश्वर्या मल्लमाथि निर्घात कुटपिट गरेको आरोप लागेको छ । पीडित उपमेयर मल्लले आफूमाथि मेयर भामको समूहले हात हतियारसहित आक्रमण गरी गम्भीर  घाइते बनाएको जानकारी गराएकी छिन् ।

उनका अनुसार मेयर भामको समूहले नगरपालिकाको कार्यालय गमगडीमा उनीमाथि आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएकी उनी यतिबेला मुगुकै सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचाररत छिन् । मुगुको छायाँनाथ नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको थियो । ‘आज कार्यपालिकाको बैठक थियो । जनताको आवाज र समस्यालाई बजेटमा सम्बोधन गरिनुपर्ने माग राखेर मैले छलफल गर्न पुग्दा मलाई महिला भनेर ममाथि हिंसा भयो,’ उनले भनिन्,‘आगामी नगरसभामा बिनियोजन गर्नुपर्ने १५ करोड रुपैयाँ बजेट पेस गर्नुपर्ने विषयमा विवाद भएको थियो ।’

मेयर भामले उपमेयर मल्लको अधिकारमाथि पटक पटक हस्तक्षेप गरेको पीडित उपमेयरको आरोप छ । नगरपालिकामै कार्यरत उनका श्रीमानलाई नगरप्रहरी लगाएर थुनामा राखेको समेत उनले खुलाइन् ।

‘ममाथि दिलिप भाम, विष्णु खत्री र नरेश भामले हतियार सहित आक्रमण गर्न आएपछि एक जना नवराज मल्लले छेक्नु भयो । मेरो कार्यकक्षमा फर्कदैँ गर्दा ममाथि कुटपिट सुरु भयो । मेरो छातीमा दाग छ । मलाई नाङ्गै बनाइयो । मेरो छातीमा चोटपटक छ,’ उनले भनिन् ।

उनका अनुसार उपमेयर मल्लमाथि प्रहार गरेको खुकुरी रामराज नाम गरेको व्यक्तिको टाउको फुटेको छ भने उपमेयर मल्लको दुई तोलाको सिक्री समेत हराएको छ ।

प्रतिक्रिया दिनुहोस्