विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु



काठमाडौँ ।

भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएका छन् ।

प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने उनको साथबाट करिब दुई सय लिटर विषालु मदिरामा मिथानोल मिसाइएको बरामद भएको छ ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ । उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।

२० भन्दा बढीलाई कल्लाकुरिची मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । १८ जनालाई पुडुचेरी जिपमेर र ६ जनालाई सलेममा पठाइएको थियो । उनीहरुको उपचारका लागि विल्लुपुरम, तिरुवन्नमलाई र सलेमबाट औषधि ल्याइएको छ ।

कल्लाकुरिची अस्पतालमा चिकित्सकको विशेष टोली बोलाइएको छ । घटनास्थलमा स्वास्थ्य विभागका उच्च अधिकारीहरु उपस्थित छन् ।

यस घटनापछि कल्लाकुरिचीका डीएम श्रवणकुमार जाटवाथको सरुवा गरिएको छ भने एसपी समय सिंह मीनालाई निलम्बन गरिएको छ । यसबाहेक कल्लाकुरिची जिल्लाको निषेधाज्ञा शाखाका प्रहरीसहित ९ प्रहरी निलम्बनमा परेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्