फेन्सिङमा आर्मी टिम च्याम्पियन



काठमाडौं ।

नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जितेको हो। नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब दोस्रो भयो। एपीएफले ५ स्वर्ण, ६ रजत र ५ कांस्य जितेको थियो। तेश्रो स्थान ओगटेको बागमती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कांस्य प्राप्त गरेको थियो।

प्रतियोगितामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टोलीको सहभागिता रहेको थियो। बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन्। गण्डकीले २ रजत र ४ कांस्य, सुदूरपश्चिमले १ रजत र ३ कांस्य तथा कोशीले १ कांस्य जिते।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनिता कार्की उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १० हजार नगद पुरस्कार पाए। तीनदिने प्रतियोगितामा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्