प्रहरी संगठन कमजोर बनाउन महानिरीक्षक हटाउने हल्ला



काठमाडौं ।

सत्ता राजनीतिको दाउपेचमा परेर थिलथिलो बन्दै गएको नेपाल प्रहरीलाई अझै कमजोर पार्ने खेल जारी रहेको छ। विधि र पद्धतिलाई लत्याएर आफ्ना निकटस्थहरूलाई अवसर दिँदै आएका सत्तासीन दलका नेताहरूले अहिले प्रहरी नेतृत्व परिवर्तन गर्ने हल्ला चलाएर संगठनलाई थप कमजोर बनाउँदै लगेका छन्।

वर्तमान प्रहरीको नेतृत्वमाथि अनेकन लाञ्छना लगाएर पदबाट हटाउने र सो पदमा आफ्ना निकटका व्यक्तिलाई ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयास गरे पनि त्यसले मूर्त रूप पाउन सकेको छैन। सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको पक्षमा नै भए पनि गृहमन्त्री लामिछाने भने प्रहरी महानिरीक्षक कुँवरलाई हटाएर आफ्ना निकटस्थ प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई ल्याउन अनेक प्रयास गरेको स्रोतको दाबी छ । यद्यपि, गृह मन्त्रालय स्रोतले भने आईजीपी हटाउने भन्ने विषय हल्लामात्र भएको जिकिर गरेको छ।

२०४६ सालपछि प्रहरी संगठनलाई आफ्नोअनुकूल प्रयोग गर्दै आएका सत्तासीन दलहरूले उनीहरूलाई आफ्नो ‘फेबरमा मिसयुज’ गर्न नपाएपछि प्रहरी महानिरीक्षक हटाउने खेल शुरू भएको पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल बताउनुहुन्छ। ‘२०४६ सालको परिर्वतनपछि तत्कालीन प्रहरी महानिरीक्षक रत्नसमशेर राणालाई बर्खास्त गरेपछि शुरू भएको यो शृंखला अहिलेको प्रहरी महानिरीक्षक कुँवरसम्म आइपुग्दा लागू गर्न खोजेको देखिन्छ’ –पूर्व डीआईजी मल्ल बताउनुहुन्छ ।

नेपालमा सबैभन्दा बढी अधिकार बोकेर बसेको नेपाल प्रहरीलाई समायनुकूल होइन आफूअनुकूल परिवर्तन गराउन खोजेपछि यो संगठनमा बेथितिले बास गरेको मल्लको ठम्याइ छ । पूर्वडीआईजी मल्ल भन्नुहुन्छ– ‘जब नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि लागू गरियो त्यसपछि यो संगठनमा समकालीन अधिकृतहरूको लडाइँका कारण प्रहरी संगठन कमजोर मात्र भएन नेताको कठपुतली नै हुन पुग्यो।’

एउटै ब्याचका अधिकृत कोही आईजीपी, कोही एआईजी, कोही डीआईजी भएपछि एकले अर्कालाई भनेको नमान्ने र हिजोसम्म सँगै उठबस गरेको साथीलाई आदेश दिन नसक्ने अवस्था आउनु र साथी–साथीबीचमा नै हानथाप शुरू शुरू हुनुले त्यसको फाइदा उठाउँदै सत्तारुढ दलका नेताहरूले आफ्नो अनुकूल प्रयोग गर्दै आएको पूर्वडीआईजी मल्ल बताउनुहुन्छ ।

हिजो ओमविक्रम राणाको पालादेखि शुरू भएको यो खेल वर्तमान प्रहरी महानिरीक्षक कुँवरसम्म आइपुग्दा पनि लागू भएको उहाँको ठम्याइ छ। संगठनभित्र सबै उच्च अधिकारीहरू एकमत भइदिएको भए अहिलेको अवस्था प्रहरी संगठनमा आउने थिएन । संगठनको स्वार्थभन्दा पनि आफ्नो स्वार्थले काम गर्न थालेको कारण संगठन अस्थिर र जर्जर बन्दै गएको नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष तथा पूर्व एसएसपी वसन्तराज कुँवर बताउनुहुन्छ।

प्रहरीमा ३० वर्षे सेवा अवधि लागू हुनुभन्दा अघि सिनियर व्यक्ति महानिरीक्षक हुने र त्यसभन्दा तल जुनियर प्रहरी अतिरिक्त वा नायब महानिरीक्षक हुने र दिएको आदेश पनि कार्यान्वयन हुने गरेको थियो प्रहरीले जस्तोसुकै अपराधको पनि सफल अनुसन्धान गरेको थियो तर अहिलेको अवस्था फरक रहेको कुँवर बताउनुहुन्छ।

वर्तमान प्रहरी महानिरीक्षक पनि विधि र पद्धतिभन्दा फरक ढंगबाट प्रहरी महानिरीक्षक बनेको र सत्तामा आएको परिवर्तनको फाइदा उठाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली कुँवरलाई आईजीपीबाट हटाएर आफू आईजीपी बन्ने खेलमा लागेको देखिन्छ।

गिर्दो मनोबलका कारण प्रहरीभित्र काम गर्ने वातावरणमा ह्रास आइरहेको बेला मुलुकको बेथिति अन्त्य गर्ने उद्घोष गरेर सत्ता पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले बेथितिको सुरुआत गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नै प्रहरी महानिरीक्षक हटाउने कुनै योजना नरहेको भनेर सार्वजनिक रूपमा जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्