एकीकृत समाजवादीको प्रतिनिधि छनौटमा मनोमानी, किसान श्रेष्ठले गोजीबाट चिट निकालेपछि बहिष्कार



कलैया ।

 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशनका लागि बारामा प्रतिनिधि छनौट मनोमानी भएको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै मनोमानी प्रतिनिधि छनौट गरिएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् ।

बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा बुधवार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मङ्गलवार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदिई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ ।

बारा ४ का लागि पार्टीको तर्फबाट प्रतिनिधि छनौटका लागि संयोजक तोकिएका कृष्णकुमार (किसान) श्रेष्ठले आफ्नो खल्तीबाट एक चिट निकालेर वाचन गर्न थालेपछि सहभागी नेताहरुले बहिष्कारको चेतावनी दिएका थिए । तर उनले ‘जे मन लाग्छ त्यही गर्नु, यही हो प्रतिनिधिको अन्तिम नामावली’ भन्दै कार्यक्रम स्थलबाट हिँडेका थिए ।

बारा ४ मा एकीकृत समाजवादीका २ हजार ११ सङ्गठित सदस्य छन् । तर प्रतिनिधि छनौटका लागि भएको भेलामा ५० देखि ६० जनामा मात्रै सहभागी भएका थिए । भेलामा सहभागी एकीकृत समाजवादी बाराका सदस्य सुभाष साहले विधि, प्रक्रिया विपरीत मनोमानी तरिकाले गरिएको प्रतिनिधि छनौट कार्यको विरोध भएको बताए ।

‘दुई हजार भन्दा बढी सङ्गठित सदस्य बारा निर्वाचन क्षेत्र नं. ४ मा छन् । तर सबैलाई खबरै नगरी ५०/६० जना मात्रै सहभागी थिए । प्रतिनिधि छनौट प्रक्रिया अनुसार मङ्गलवार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो, तर त्यो भएन । मतदाताको नामावली नै सार्वजनिक गरिएन्’ साहले भने, ‘उम्मेदवारी दिने समयमा उम्मेदवारी दिने कार्यक्रम पनि भएन् । कतिपयले उम्मेदवारी दिने तयारीमै थिए । सर्वसम्मतको नाममा मनोमानी भयो । जो सङ्गठित सदस्य हुन तिनले आफ्नो प्रतिनिधि आफै छान्न पाएनन् ।’

भेलामा सहभागी अर्का युवा नेता शम्भु यादवले सर्वसम्मतको नाममा गोजीको मान्छे ल्याउन खोजिनु पार्टी हितविपरितको काम भएको बताए । प्रतिनिधि छनौट अघि क्षेत्रीय कमिटीको बैठक बस्नुपर्ने, मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, उम्मेदवारी दिन पाउनुपर्ने ती सबै प्रक्रिया मिचिएको यादवले जनाएका छन्।

‘यस्तो पाराले पार्टीको हित हुदैन् । कुनै व्यक्तिका लागि पार्टीको विधान, नीति, प्रक्रिया नै मिच्ने काम गर्नु गलत हो । सिमित व्यक्तिको स्वार्थका लागि पार्टीका हजारौँ सदस्यहरुको अधिकार खोस्नु राम्रो होइन’ यादवले भने, ‘पार्टीले तोकेको संयोजकले नै आफूखुसी गर्न थालेपछि पार्टीले न्याय गर्नुपर्छ ।’

एकीकृत समाजवादी बाराको फेटा गाउँपालिका सचिव समेत रहेका अमिरका साहले भेलामा सहभागी नै नभएको व्यक्ति प्रतिनिधि हुनुले मनोमानी गर्न खोजिएको स्पष्ट भएको बताए । पार्टीहित विपरीत काम गर्ने व्यक्तिलाई केही नेताले च्याप्न खोज्दा पार्टीको हित नहुने उनले बताए ।

एकीकृत समाजवादीका बाराका सदस्य रामसुन्दर प्रसाद साहले समेत मनोमानी नगर्न सुझाव दिँदै बैठकमै विरोध गर्दै गरेका थिए । तर सहभागीहरूको कुरा नसुनेर जबरजस्ती गरिएपछि उनले सो बारेमा पार्टीमा उजुरी समेत गरेका छन् । प्रक्रिया विपरीत मनोमानी प्रतिनिधि छनौट गरेपछि पार्टीमा निवेदन दिँदै प्रक्रिया अनुसार पुनः प्रतिनिधि छनौट हुनुपर्ने माग समेत गरेका छन् ।

बारा ४ मा मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएपछि प्रक्रिया पुर्‍याएर प्रतिनिधि छनौट गर्न माग गर्दै उजुरी समेत परेको छ । अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट देशैभरी भइरहेको छ ।
प्रतिनिधि छनोटका लागि बारा निर्वाचन क्षेत्र नं १ र २ बाट ५–५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुनुपर्छ । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् ।

प्रतिनिधि छनोटको क्रममा महिला, दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू पार्टीको १० औ केन्द्रीय अधिवेशनमा केन्द्रीय कमिटी चयन प्रक्रियामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्