एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी सम्पन्न

84
Shares

काठमाडौँ।

उच्च शिक्षाका लागि विदेश जान चाहने नेपालीलाई लक्षित गर्दै चिनियाँ दूताबास र चाइना स्कलरसिप काउन्सिलले मंगलबार काठमाडौंमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ ।

उक्त शैक्षिक प्रदर्शनीको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चीनका राजदूत छङ सङले संयुक्त रुपमा उद्घाटन गरेको उक्त प्रदर्शनीमा चीनका विभिन्न शहरमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटा विश्वविद्यालयहरूले स्टल राखेर आफ्ना विश्वविद्यालयहरुले प्रदान गरिरहेका शैक्षिक कार्यक्रमहरुका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई दिंइदै आएको छात्रबृत्तिका बारेमा पनि जानकारी दिएका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यो मेलाले नेपाल र चीनबीच शैक्षिक, सांस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेपाली विद्यार्थीले चीनमा छात्रबृत्ति पाएर अध्ययन गरी विशिष्टता हासिल गरी देश विकासमा टेवा पु¥याइरहेको जिकिर गर्दै यो शैक्षिक प्रदर्शनीले भविष्यमा अझ धेरै विद्यार्थीहरु लाभान्वित हुने धारणा राखे ।

 

चिनियाँ राजदूत सङले यस प्रकारको सांस्कृतिक तथा शैक्षिक आदानप्रदान दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधारशीला भएको उल्लेख गर्दै भने– ‘यो शैक्षिक प्रदर्शनी नेपाल र चीनबीचको सबैभन्दा ठूलो उच्च शिक्षा सहयोग परियोजना हो । यहाँ विश्वस्तरका चिनियाँ विश्वविद्यालयहरुको सहभागीता रहेकोले यो प्रदर्शनीको अवलोकन गरी फाइदा उठाउन सबैलाई म हार्दिक आग्रह गर्दछु ।’

 

कार्यक्रममा चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियरले नेपालमा एक दशकपछि पुनः चिनियाँ उच्च शिक्षा प्रदर्शनीको आयोजना भएको भन्दै खुशी व्यक्त गरे । उनले नेपाली विद्यार्थी, अभिभावक एवं सरोकारवालाहरुलाई चीनको शैक्षिक अवस्थाको बारेमा जानकारी दिन आयोजना गरिएको यस प्रदर्शनीले चीनमा गई उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । त्यसैगरी नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले यो प्रदर्शनीमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरुले चीनमा अध्ययन गर्दा हुने फाइदा र चिनियाँ विश्वविद्यालयले उपलब्ध गराउने छात्रबृत्तिलगायत विभिन्न जानकारीहरु प्राप्त गर्ने बताए ।

नेपालमा पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना भएको थियो । चीनले प्रत्येक वर्ष नेपाल सरकारलाई विभिन्न विषयमा दुई सयभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।