काभ्रे।
‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने महत्वाकांक्षासहित स्थापित धुलिखेल अस्पतालले केही सेवा थप गरेको छ भने भएका सेवाहरुको स्तरोन्नती गरेको छ ।
अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा विरामीमैत्री पार्किङको व्यवस्थापन, प्लास्टिक फ्रि वातावरण, इमर्जेन्सीका बिरामीका लागि फास्ट ट्रायक सेवाको व्यवस्था गरिएको छ । यी सेवा सुधारबाट सेवाग्रहीहरुले विगतमा भन्दा केही सहजता महसुस गरिरहेको बताएका छन् । अस्पताल परिवारले अझै सेवालाई सहज र सरल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
अस्पतालका प्रशासकीय निर्देशक डा.विराजमान कर्माचार्यले सेवालाई सरलिकृत र सहज बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । धुलिखेल अस्पतालमा भएका थप गरिएका सेवाका बारेमा तथा स्तरोन्नती गरिएका सेवाका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सोही विषयमा जानकारी गराइएको प्रवक्ता प्रा.डा. सुमन ताम्राकारले बताए ।
विधागत रुपमा नाक, कान, घाँटी विभाग अन्तर्गत कानसम्बन्धी नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्नु अगाडी हियरिङ स्क्रिनिङ, कान कम सुन्ने सेवाग्रहीहरुका लागि आवश्यक हियरिङ एडसम्बन्धी सम्पूर्ण सेवा दिइँदै आएको छ भने निकट भविष्यमा ‘कक्लियर ईम्प्लान्ट (कान नसुन्नेहरुका लागि प्रविधीजन्य जडान)’ सेवा सुरु गर्न लागिएको ईएनटी विशेषज्ञ प्रा.डा.विकासलाल श्रेष्ठले बताए ।
स्त्रीरोग विभाग अन्तर्गत बाँझोपनको समस्या भएका मध्येलाई फाइदा पुग्ने गरी आईयूआई (ईन्ट्रायुटेराईन ईन्सेमिनेसन) सेवा पुनः सुचारु गरिएको निर्देशक कर्माचार्यले बताए । आईयूआई प्रविधी अन्तर्गत पुरुष पार्टनर अर्थात् श्रीमानको वीर्यलाई प्रोसेसिङ गरेर महिला पार्टनर अर्थात् श्रीमतीको पाठेघरमा राखिन्छ । केही हप्ता अगाडि मात्र संचालनमा ल्याएको उक्त सेवाबाट कतिपय सेवाग्रहीमा सकारात्मक नतिजा देखिएको छ । टेष्टट्युब बेबीभन्दा निकै कम खर्च र कम झन्झटमै गर्न सकिने उक्त प्रविधिबाट काभ्रे जिल्ला आसपासका सेवाग्रहीहरु लाभान्वित हुने लक्ष्य राखिएको छ । स्त्री रोग विशेषज्ञ डा. रुपेश सिंह बस्न्यातले उक्त सेवाले सन्तान नभएका अधिकांश अभिभावकहरूलाई सहज हुने बताए ।
तीन महिनाभन्दा लामो समयसम्मको मानव शरीरको दुखाइलाई दीर्घकालीन अर्थात् जीर्णखालको दुखाईको कोटामा राखिन्छ । धुलिखेल अस्पतालमा दीर्घकालीन दुखाई प्रताडितहरुका लागि ‘डे केयर पेन क्लिनिक’ संचालनमा ल्याएको छ । उक्त सेवाबाट सेवाग्रहीहरु लाभान्वित भएको प्रारम्भिक नतिजा प्राप्त भइरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा कार्यरत एनेस्थेसिया विशेषज्ञ डा. समीर शाक्यका अनुसार उक्त रोगबाट पीडितहरु उक्त सेवाबाट लाभान्वित हुनेछन् ।
डेन्टल विभाग अन्तर्गत मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थालनीसँगै दन्तसम्बन्धी उपचार सुरु भएको छ । विगतमा नाङ्गो आँखा, शारीरिक परीक्षण एवं एक्सरे, सीटी स्क्यानमा भर परेर पु¥याउँदै आएको सेवामा मेडिकल थ्रीडी प्रिन्टिङको नौलो प्रविधीसँगै मानव शरीरभित्रको प्रभावित भागको ठ्याक्कै प्रतिलिपि उतार गरेर उपचार (विशेषतः शल्यक्रियाजन्य) सेवाले सेवाग्राहिहरुलाई सहजता भएको छ । स्वास्थ्यसेवाको गुणस्तरमा त्यसले थप फाइदा पुगेको बताइन्छ । डेन्टल उपचारका लागि परिकल्पना गरिएको उक्त प्रविधिबाट हाडजोर्नी एवं ईएनटी विभागमा पनि सहजता भएको डेन्टल सर्जन प्रा.डा. दशरथ काफ्लेले बताए ।
धुलिखेल अस्पतालमा ल्याब परीक्षण अन्तर्गत हेमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमेष्ट्री परीक्षणमा निकै अत्याधुनिक सेवाहरु थप गरिएको छ । कोभिड महामारीको बेला पीसीआर सेवाबाट नेपाली स्वास्थ्य क्षेत्रमा अभूतपूर्व सेवा दिन सफल उक्त अस्पतालमा हालै उपलब्ध डीएनए परीक्षण सेवा अर्काे उदाहरण हो । विगतमा छिमेकी देश तथा अन्य मुलुकमा पठाउन बाध्य कतिपय टेस्टहरू अहिले यहीँ सम्भव भएको बायोकेमेष्ट्री एक्स्पर्ट डा. ज्योती श्रेष्ठले बताइन् ।
त्यसैगरी धुलिखेल अस्पतालमा नियमित रुपमा अन्कोलोजी सेवा संचालन भइरहेको छ । अन्कोलोजी भन्नाले मेडिकल क्षेत्रमा उपलब्ध पछिल्लो प्रमाणिक जानकारीको आधारमा दिइने औषधीजन्य उपचार सेवा हो । अन्कोलोजी सेवा अन्तर्गत कतिपय क्यान्सर रोगीहरुका लागि आवश्यक केमोथेरापी शल्यक्रियापूर्व एवं शल्यक्रिया पश्चात् पनि यसै अस्पतालमा दिइँदै आएको छ । धुलिखेल अस्पतालमा क्यान्सरको आशंका गरिएका विरामीको अपरेशनको बीचमै मासु जाँच गरेर क्यान्सर रोग निदान गर्ने प्रविधि (फ्रोजन सेक्सन) उपलब्ध छ । क्यान्सर रोगीहरुका लागि आवश्यक शल्यक्रिया, फिजियोथे रापी, नर्सिङ्ग सेवा, परामर्श सेवा उपलब्ध गराइएको प्रा.डा.बलराम मल्लले जानकारी दिए ।
अस्पतालमा एचडीयू (आईसीयू भन्दा एक तहमुनिको हाई डेपेन्डेन्सी युनिट) अन्तर्गत बेडसंख्यामा वृद्धिका साथै गुणस्तरीयताका लागि आवश्यक स्तरीकरण गरिएको निर्देशक कर्माचार्यले बताए । धुलिखेल अस्पताल सेवाग्राहीको सेवामा गुणस्तरीयता र सहजता पु¥याउन प्रतिबद्ध रहेको उनले बताए ।
प्रतिक्रिया