मधेश प्रदेशको बजेटको आकार घट्यो



वीरगन्ज।

मधेश प्रदेश सरकारको बजेटको आकार घटेको छ । शनिबार मधेश प्रदेशका आर्थिक मामिला मन्त्री भरत साहले आर्थिक वर्ष २०८१-८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएका हुन् ।

मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा शनिबार प्रस्तुत गरेको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.५५ प्रतिशत र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।सरकारले आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड, ३० लाख, वित्तीय हस्तान्तरण अनुदानतर्फ वितीय समानीकरण अनुदानबाट ७ अर्ब, ७९ करोड, ९२ लाख तथा सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख र संघीय राजस्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लख ७० हजार अनुमान गरेको छ ।

मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री साहले अभियान सञ्चालनको घोषणा गरेका छन् । सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्