झन्डै २ अर्बले बढ्यो बागमतीको बजेट



हेटौंडा ।

अन्य प्रदेशको बजेटको आकार खुम्चिएको बेला वागमती प्रदेश सरकारले भने आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि आकार बढाएर ६४ अर्ब ५४ करोड बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएका हुन् । शनिबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजारको बजेट ल्याइएको जानकारी गराए । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख बजेट ल्याएको थियो ।

बजेटमा पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हजार, चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड विनियोजन गरिएको छ । कुल बजेटमा चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत छुट्याइएको छ ।

उनले स्थानीय तहमा समपुरक अनुदानका लागि २ अर्ब ४८ करोड, विशेष अनुदानका लागि ७९ करोड ४८ लाख र वित्तीय हस्तान्तरणका लागि ८ अर्ब ३७ करोड विनियोजन गरिएको बताए ।

प्रदेशले कृषिमा आधुनिकीकरणसँगै उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्ने नीति लिएको छ । कृषि पूर्वाधार विकासलाई जोड दिँदै कृषिसम्बन्धि कार्यक्रम र योजना कार्यान्वयन गर्न २ अर्ब ६२ करोड विनियोजन गरिएको छ । सवारीसाधन कर राजस्व बाँडफाँटबाट स्थानीय तहलाई ५ अर्ब प्रदान गर्ने गरी बजेट व्यवस्था गरिएको छ ।

दूधमा अनुदानका लागि २० करोड बजेट विनियोजन गरिएको छ । पर्यटन तथा सहकारी क्षेत्रका लागि २ अर्ब ४६ करोड विनियोजन गरिएको छ । उद्योग, भूमि तथा प्रशासनका लागि ७२ करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारले सडक निर्माणका लागि ७ अर्ब ७८ करोड विनियोजन गरेको छ । प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न ७ अर्ब ७८ करोड बजेट विनियोजन गरिएको छ । गुरुयोजनामा प्रदेश लोकमार्गमा २० वटा र प्रदेशमार्गमा २ सय ३० सडक राखिएका छन् । प्रदेशभित्र पहिलो पटक गुरुयोजना बनाएर सडक निर्माण, मर्मतसम्भारमा बजेट बिनियोजन गरिएको हो । सरकारले सडक, पुल र झोलुंगेपुलका लागि २ अर्ब २८ करोड विनियोजन गरेको छ ।

सरकारले ‘एक घर–एक बिरुवारोपण’ कार्यक्रम घोषणा गरेको छ । प्रदेशका सबै सहरमा स्थानीय सरकारसँगको सहकार्यमा घरको नक्सापास गर्दा उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ । प्रदेश सरकारले ‘प्रदेश शून्य प्लास्टिकजन्य पदार्थ’ अभियानका लागि १ करोड ६१ लाख विनियोजन गरेको छ ।

प्लास्टिकजन्य पदार्थबाट शहरी क्षेत्र, राजमार्ग छेउछाउ ऐतिहासिक, धार्मिकस्थल, सम्पदा तथा पर्यटकीय क्षेत्रमा बढ्दो प्रदुषण नियन्त्रणका लागि सरसफाइ अभियान सञ्चालन गर्न लागिएको हो ।

सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमका लागि २१ करोड छुट्याएको छ । राजधानी हेटौंडामा निर्माणाधीन प्रादेशिक थोकबजारका लागि सरकारले ४ करोड विनियोजन गरेको छ । सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तीकरणका लागि ११ करोड ६० लाख बजेट विनियोजन गरेको छ।

दुई घण्टा ढिलो

प्रदेश सरकारको बजेट भाषण दुई घण्टा पछि सरेको थियो । दिउँसो ४ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१÷०८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको हो ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारण बजेट प्रस्तुतका लागि दिउँसो ४ बजे निर्धारित प्रदेशसभा बैठक साँझ ६ बजेका लागि तोकिएको जनाएको थियो । यसअघि सभामुख भुवन पाठकले प्रदेशसभा बैठक दिउँसो ४ बजेका लागि निर्धारण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्