सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सक्रियता

सम्पत्ति शुद्धीकरण गर्ने राईविरुद्ध ८ करोडको मुद्दा



काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कर छली र विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको सम्पत्तिलाई शुद्धीकरण गराउन खोजेको भन्दै एक व्यक्तिउपर ८ करोड ४७ लाख ६२ हजारको मुद्दा दायर गरेको छ।

विभागले खोटाङ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने ५३ वर्षका चन्द्रबहादुर राई भनिने चन्द्रदीप राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उजुरहरूउपर छानबिन प्रक्रियालाई तीव्रता दिँदै आएको छ । सोअनुसार राईविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो। राईले विभिन्न कसुर गरी अकुत सम्पत्ति आर्जन गरेको र त्यसलाई शुद्धीकरण गरेकाले छानबिनको माग गर्दै परेको उजुरीमा विभागले विस्तृत छानबिन गर्दै आइरहेको थियो।

छानबिनका क्रममा राईले आपराधिक कार्यबाट रकम आर्जन गरेको तथा गैरकानुनी स्रोतको रूपान्तरण, हस्तान्तरण गर्ने त्यस्तो स्रोत लुकाउने एवं छल्ने उद्देश्यले ७ करोड ५४ लाख ६५ हजार र साथै कसुरबाट प्राप्त सम्पत्तिले बढे बढाएको ९२ लाख ९७ हजारसमेत गरी ८ करोड ४७ लाख ६२ हजार रुपियाँ सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको विभागले जनाएको छ।

अतः विभागले राईमाथि ८ करोड ४७ लाख ६२ हजारको बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १ अनुसार मुद्दा दायर गरिएको हो ।

साथै, विभागले निज राईको नाममा रहेको शुद्धीकरण गरिएको तथा स्रोत नखुलको सम्पत्ति तथा साधन तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण ऐन २०६४ अनुसार जफत गर्नसमेत माग गरेको छ। विभागमा परेका सम्पत्ति शुद्धीकरणविरुद्धका झन्डै चार हजार उजुरीमध्ये १६ सय बढी उजुरीको छानबिन भइरहेको छ।

नेपालमा आपराधिक क्रियाकलापबाट अवैध सम्पत्ति आर्जन गरी शुद्धीकरण गराउने प्रवृत्तिमा कमी आएको छैन। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आपराधिक कार्य गरी अवैध सम्पत्ति आर्जन गर्ने र शुद्धीकरण गर्नेउपर सशक्त छानबिन र कारबाही थालेको हो । विभागको यस्तो प्रयाससँगै सम्पत्ति शुद्धीकरण गराउनेहरूको मनोबल घट्न पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्