बास्केटबलका संयोजक मापसेमा परेपछि..

294
Shares

कास्की।

पोखरामा आजबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक बनेर आएका व्यक्ति मापसेमा परेका छन् ।
पोखरा रंगशालामा बिहान ७ बजेदेखि बास्केटबल आयोजना हुने तालिका थियो तर, खेल ढिला गरी सुरुमात्रै भएन उक्त खेलको संयोजक बनेर आएका बास्केटबल संघका (केन्द्र) कार्यालय सचिव तथा प्रतियोगिता संयोजक रमेश खड्काले मापसे गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी आएर मापसे गरे नगरेको परीक्षण गर्दा मापसे गरेको भेटिएको हो । विद्यालयस्तरको राष्ट्रिय खेलकुदमै मापसे गरेर आएपनि उनलाई तत्कालै रङ्गशालाबाट निकालिएको छ ।

आज बिहान ७ः०० बजे देखि सुरु हुने भनिए पनि उनले दुई वटा कोर्ट आवश्यक पर्ने र रंगशालाभित्र रहेको बास्केटबल कोर्टमा लेखिएको ‘गण्डकी प्रदेश बास्केटबल संघ’ बोर्ड समेत हटाउनुपर्ने भन्दै विवाद समेत गरेका थिए ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुदमा मापसे गरेर आउनु खेल प्रति अपमान गरेको बताए । उनले खेल क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ खाएर आउनै नपाउने बताए । तर रमेशले भने बास्केटबल कोर्टमै सुर्तीजन्य पदार्थ समेत खाएका थिए ।

बिहान ७ः०० खेलाडीहरुलाई रंगशालामा बोलाए पनि साँढे २ घण्टासम्म खेलाडी त्यसै अलपत्र अवस्थामा परेका थिए । खेल कति बजे र कहाँ हुन्छ भन्ने अझै टुंगो भएको थिएन । बास्केटबल संघले बास्केटबल संघ गण्डकी प्रदेशलाई मान्यता नदिएको कारण आन्तरिक विवादले गर्दा उक्त प्रतियोगिता अन्यौलमा भएको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले समयमै खेल सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न खोज्दा संघ केन्द्रको कुनै पनि प्रतिनिधिहरुले समन्वय नगरेको बताए । बिहान ७ बजे खेलाडीहरुलाई बोलाए पनि घण्टौंसम्म खेल सञ्चालन नहुँदा  खेलाडीहरु अलपत्र अवस्थामा रहेको बताए । अहिले खेल सुचारु भइसकेको छ ।

उनले प्रहरीलाई आफूले मापसे नगरेको बताइरहेका थिए । राष्ट्रिय खेलकुद परिषद्का खेल प्रतियोगिता विभागीय प्रमुख तथा प्रतियोगिता सचिव मीन कुमार शर्माले उनको बचाउ गर्दै बेलुका मापसे गरेको बताए । प्रहरीले मापसे जाँच गर्दा मापसे देखिदाँ समेत उनले बचाउ गरे ।