टी-२० विश्वकप: नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया सुपर-८ मा

5.73k
Shares

काठमाडौं ।

अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ। समूह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजित गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो।

नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यसअघि नामिबियाले पहिला ब्याटिङ गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो।

नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्वाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए। नामिबियाको ब्याटिङ धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए। जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन्।

यो जितपछि समूह बी मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अङ्कसहित शीर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ । त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो।

३ खेलमा २ अङ्क रहेको नामिबिया सुपर ८ को दौडबाट बाहिरिएको छ। यस समूहबाट यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो। समूह बी मा स्कटल्यान्ड ३ खेलमा ५ अङ्कसहित दोस्रो स्थानमा छ भने ईङल्याण्ड २ खेलमा एक अङ्क सहित चौथो स्थानमा रहेको छ।