‘कोपा र यूरो’ ले फुटबलमय हुँदै जुन–जुलाई



काठमाडौं ।

यो वर्षको जुन र जुलाई महिना फुटबलमय बन्दैछ। किनभने विश्वको सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका र फिफा विश्वकपपछिकै चर्चित मानिने यूरो कप यही जून र जुलाई महिनामा परेको छ। हुनत प्रत्येक चार वर्षमा हुने फिफा विश्वकपका कारण पनि जुन–जुलाईलाई फुटबलकै महिनाको रुपमा सम्झिने गरिन्छ।

यसपटकको जुन–जुलाई भने चार–चार वर्षमै हुने कोपा अमेरिका र यूरोकपका कारण फुटबलमय बन्ने निश्चित भएको हो। त्यसमाथि अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप क्रिकेटका कारणले त यो महिना फुटबलमय मात्र होइन, खेलकुदमय नै भएको छ। रोचक कुरा त के भने यूरोकप र कोपा अमेरिकाको फाइनल खेल पनि एकैदिन अर्थात आगामी १४ जुलाईमा नै परेको छ।

विशेषगरी फुटबलका पारखी नेपाली दर्शकका लागि यसपटकको जुन र जूलाईको रात र बिहान फुटबलकै कारण भ्याइनभ्याइ हुने पक्का छ । किनभने नेपाली समयअनुसार यूरोकपको खेल सांँझदेखि मध्यरातसम्म र कोपा अमेरिकाको खेल मध्यरातदेखि बिहानसम्म चल्नेछ। यूरोपेली राष्ट्रको फुटबल महाकुम्भको १७औं संस्करण आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुंदैछ।

बर्लिन, म्युनिख, स्टुटगार्ट, लेइप्जिग, डर्टमन्ड, ह्यामबर्ग, गेल्सनकिर्सन, डूसेलडोर्फ, कोलोग्ने र फ्रान्कफर्टमा गरी जर्मनीको विभिन्न १० सहरमा यूरोकप आयोजना हुँदैछ। म्युनिखमा हुने प्रतियोगिताको पहिलो दिन जून १४ मा समूह ए मा रहेको जर्मनीले स्कटल्यान्डसँग उद्घाटन खेल खेल्नेछ।

अर्कोतिर किर्तिमानी पाँच पटकको विश्वविजेता ब्राजिल र तीन पटकको विश्वविजेता अर्जेन्टिनासहित अन्य दक्षिण अमेरिकी राष्ट्रका खेलाडीहरुका कारण लोकप्रिय ‘कोपा अमेरिका’ यसपटक अमेरिकामा हुँदैछ। फुटबलका सर्वकालीन हस्ती पेले, म्याराडोना, मेसी जस्ता दक्षिण अमेरिकी माटोमा जन्मेका लेजेन्डहरुको नाम बिना विश्व फुटबल अधूरै हुन्छ।

अनि कोपा अमेरिका त्यही माटोमा हुने विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता समेत हो। सन् १९१६ देखि आयोजना भएको यस प्रतियोगिताको ४८औं संस्करण आगामी जून २० देखि जुलाई १४ सम्म अमेरिकाको १४ वटा सहरमा हुंदैछ। यसपटक अर्लिंग्टन, एटलान्टा, अस्टिन, सरलोट्टे, ईस्ट रुदरफोर्ड, ग्लेन्डेल, हुस्टोन, इंगलउड, कन्सास सिटी, लस भेगास, मायमी गार्डेन्स, ओर्लान्डो, कन्सास सिटी मिसौरी र सान्ता क्लारामा गरी प्रतियोगिताको कुल ३२ म्याच हुनेछ।

एटलान्टाको मर्सिडिज–बेन्ज स्टेडियममा हुने प्रतियोगिताको उद्धघाटन म्याचमा भने डिफेन्डिंग च्याम्पियन अर्जेन्टिनाले क्यानाडाको सामना गर्नेछ । पछिल्लो पटक २०२१ मा ब्राजिलमा आयोजना भएको ४७औ संस्करणमा घरेलू टोलीलाई हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो । फाइनलमा पाहुना टोली अर्जेन्टिनाले घरेलु टोलीलाई १–० गोलअन्तरले हराउँदै उपाधि पोल्टामा पार्न सफल भएको थियो ।

अर्जेन्टिनालाई १५औं पटक कोपा अमेरिका च्याम्पियन बनाउँदै कप्तान लिओनेल मेसीले पहिलो पटक राष्ट्रिय टिमबाट अन्तराष्ट्रीय उपाधि जितेका थिए । मेसीले आफ्नो लामो करिअरमा पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको नै कोपा अमेरिका उपाधि हो । उक्त फाइनल खेलमा अर्जेन्टिनालाई उपाधि जिताउनका लागि एक मात्रै विजयी गोल एन्जल डि मारियाले गरेका थिए ।

यसपटक पनि कोपाको लागि तयार मेसी कोपाको सातौं संस्करण खेल्ने पहिलो खेलाडी समेत बन्दैछन् । यसअघि छैटौं पटक कोपा अमेरिका खेल्ने एकमात्र खेलाडी बन्नेक्रममा मेसीले पाँंच पटक सहभागी मास्केरानोको कीर्तिमानलाई उछिनेका थिए । मेसीले सन् २००७ को कोपामा डेब्यु गरेका थिए ।
यसपटक कोपामा दक्षिण अमेरिकाका १० र उत्तर र मध्य अमेरिकाका (कोन्काकाफ) का ६ गरी कुल १६ टिमले भाग लिँदैछन् । विगतमा दक्षिण अमेरिकाको सम्पूर्ण १० र बाहिरका दुई टिमलाई पाहुना टोलीका रूपमा निमन्त्रणा गरिन्थ्यो । तर, यसपटक यो संख्या बढाइएको छ । यसपटक १६ राष्ट्र सहभागी कोपा अमेरिकामा ४ समुह विभाजन गरिएको छ ।

समूह एः अर्जेन्टिना, चिली, पेरु, क्यानाडा
समूह बीः मेक्सिको, इक्वेडोर, भेनेजुएला, जमैका
समूह सी : अमेरिका, उरुग्वे, पानामा, बोलिभिया
समूह डी : ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

युरोकपमा इंग्ल्यान्ड सर्वाधिक मूल्यको टोली

आगामी आइतबार जुन १५ देखि जर्मनीमा शुरु हुने युरोकप २०२४ मा खेल्ने टोलीमध्ये इंग्ल्यान्ड सबैभन्दा बढी मूल्यवान टोली बनेको छ । द सनले जनाएअनुसार खेलाडीको रकमको आधारमा भ्यालुबल टोली निर्धारण गरिएको हो ।

ग्यारेट साउथगेटको २६ सदस्यी टोलीको ट्रान्सफर मूल्य १.२ बिलियन पाउन्ड रहेको छ । इंग्ल्यान्डमा हेरी केन, बुकायो साका र फिल फोडन र जुडे बेलिङगाम धेरै मूल्यका खेलाडी हुन् । बेलिङगाम रियल मेड्रिडमा १६५ मिलियन पाउन्डको मूल्य रहेको खेलाडी समेत हुन् । उनले रियललाई गत साता च्याम्पियन्स लिग ट्रफी दिलाउन सहयोग गरेका थिए ।

डिडियर डेसक्याम्पको फ्रान्स टोलीको मूल्य १.१ बिलियन पाउन्ड रहेको छ। युरो २०२४ को सर्वाधिक मूल्यवान सूचीमा फ्रान्स दोस्रो स्थानमा छ । यो सूचीको तेस्रो स्थानमा ८९८ मिलियन पाउन्डसँगैं पोर्चुगल रहेको छ। पोर्चुगल २०१६ को युरोकप विजेता टोली समेत हो ।

यस्तै, युरो २००८ र २०१२ मा लगातार उपाधि जितेर कीर्तिमान राखेको स्पेन चौथो मूल्यवान टोली बनेको छ। लुइस डी ला फुन्टेको टोली स्पेनको मूल्य ७४८ मिलियन पाउन्ड रहेको छ। नेदरल्यान्डस् ६८६ मिलियन पाउन्डसँगै युरो २०२४ को पाँचौं मूल्यवान टोली बनेको छ। तर, युरोपेली फुटबलको पावरहाउसले चिनिने जर्मनी भने छैटो स्थानमा रहेको छ।

युरो २०२४ को आयोजक राष्ट्रको मूल्य ६७९ मिलियन पाउन्ड निर्धारण गरिएको छ। डिफेन्डिङ च्याम्पियन इटालिको मूल्य भने ५९१ मिलियन पाउन्ड रहेको छ र सातौं स्थान ओगटेको छ । आठौं, नवौं र दशौं स्थानमा क्रमशः बेल्जियम, डेनमार्क र टर्की रहेका छन्।

शीर्ष १० युरो २०२४ का टोलीहरू

(रकम मिलियन पाउन्डमा)

प्रतिक्रिया दिनुहोस्