विदेशीलाई देखाउने ‘स्वदेशको मुहार’ अध्यागमनमा हुँदै छ सुधार



काठमाडौं ।

विदेशीलाई देखाउने स्वदेशको मुहारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने कार्य थालिएको छ।

अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन डेस्कलगायत देशभरमा रहेका सबै अध्यागमन कार्यालयलाई पूर्ण रूपमा अटोमेसनमा लैजाने गरी कार्य थालिएको जनाएको छ।

अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले स्वदेशको मुहार विदेशीलाई देखाउने मुख्य थलोका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा व्यापक सुधार गर्नुपर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखी सुधार थालिएको जानकारी दिनुभयो।

महानिर्देशक निरौलाले हाल त्यहाँ देखिने गरेको इन्टरनेट समस्यालाई दीर्घकालसम्म समाधान गर्न तथा इन्टरनेटलाई द्रुत बनाउन डार्क फाइबर नेटवर्क जडान गरिएको जानकारी दिनुभयो । महानिर्देशक निरौलाका अनुसार सबै काम अनलाइनबाट चुस्तदुरुस्त रूपमा सम्पन्न गरी सेवाग्राहीलाई समयमा नै सेवा दिने उद्देश्यले अध्यागमन डेस्कमा तत्काल ४० वटा कम्प्युटर जडान गरिएको र ४० वटा कम्प्युटर थप गर्ने प्रक्रिया थालिएको छ।

यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ई–गेट राख्ने तयारी थालिनुका साथै अध्यागमन कार्यालयहरूको संस्थागत र संरचनागत सुदृढीकरण गरी सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गरिएको महानिर्देशक निरौलाले बताउनुभयो।

यद्यपि, अध्यागमनमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गरी दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्न भने विभागलाई चुनौती देखिएको बताइएको छ। अहिले पनि अध्यागमनमा खटिएका कर्मचारीहरूबाट सहज र आत्मीय सेवा पाउन नसकेको भन्दै सेवाग्राहीबाट गुनासाहरू आउने क्रम भने घटेको छैन। सेवाग्राहीका अनुसार अध्यागमनमा खटिने कर्मचारीहरूमा व्यवहारगत सुधार अत्यावश्यक रहेको छ ।

अध्यागमन विभागका अनुसार यही १ असारदेखि अध्यागमनमा रहेका सबै कर्मचारीलाई एउटै कलर र स्वरूपको पोसाकको व्यवस्थासमेत गरिएको छ। यसले गर्दा सेवाग्राहीलाई अध्यागमनका कर्मचारी पहिचान गर्न सहज हुनेछ।

अध्यागमन विभागले आफ्नो मुख्य क्षेत्राधिकारका रूपमा रहेका कार्यहरूमध्ये विदेशीहरूको प्रवेश उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाइएको जनाएको छ भने नेपाली नागरिकहरूको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने तथा अध्यागमन अपराधलाई नियन्त्रण गर्नेजस्ता कार्यहरू गर्दै आइरहेको छ।

यसै गरी विभागले सेवा प्रवाहको प्रक्रियागत सरलीकरण तथा प्रविधिमैत्री पुनःसंरचना गरी अध्यागमन कानुनहरूको समयसापेक्ष परिमार्जन गर्न आवश्यक समन्वय गर्दै आइरहेको छ भने सम्बद्ध निकायहरूबीच बहुपक्षीय सूचना आदानप्रदान संयन्त्रको स्थापना तथा एकीकृत अभिलेख व्यवस्थापन गर्नुका साथै विदेशी नागरिकहरूको अनुगमन संयन्त्रहरूको नियमित र प्रभावकारी परिचालन गर्दै आइरहेको बताइएको छ ।

कोषहरि निरौला 
महानिर्देशक, अध्यागमन विभाग

स्वदेशको मुहार विदेशीलाई देखाउने मुख्य थलोका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा व्यापक सुधार गर्नुपर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखी सुधार थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्