वाणिज्य विभागको अनुगमन टोलीमाथि ‘रकम बार्गेनिङ’को आरोप

केन्द्रीय अनुगमन समितिमा उजुरी दिइने



काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा खटिएका निरीक्षण अधिकृतलगायतका कर्मचारीमाथि रकम बार्गेनिङको आरोप लागेको छ।

पछिल्लो समय विभागले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा गरेको बजार अनुगमनका क्रममा विभागका कर्मचारीहरूले रकम माग गरेको र विभिन्न बहाना बनाएर बार्गेनिङ गरेको आरोप व्यवसायीहरूले लगाएका छन्।

विभागले दैनिक ५ देखि ७ वटा टोली बनाएर काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका विभिन्न होटल, तरकारी पसल, फर्निचर पसल, जुत्ता चप्पल पसल, खाद्य वस्तु, कपडा पसल, पानी उद्योगलगायतका स्थानमा लगातार अनुगमन गर्दै आइरहेको छ । सबै टोलीमा गरेर झन्डै चालिस कर्मचारी अनुगमनमा खटिँदै आएका छन् । विभाग केही समयदेखि महानिर्देशकविहीन अवस्थामा रहेको थियो । महानिर्देशक नभएको समयमा नै अनुगमनमा खटिएका कर्मचारीहरूले रकमको बार्गेनिङ गरेको व्यवसायीको आरोप छ ।

अनुगमनमा खटिएका कर्मचारीहरूले केही सानो त्रुटि फेला परे पनि ठूलै अपराध गरेको जस्तो व्यवहार गर्ने र माथि मिलाउनुपर्ने भन्दै अप्रत्यक्ष रूपमा पैसाको बार्गेनिङ गर्ने गरेको पीडित व्यवसायीको गुनासो छ। विशेष गरी काठमाडौंका लाजिम्पाट, गैरीधारा, बूढानीलकण्ठ, ललितपुरका जावलाखेललगायत विभिन्न क्षेत्रका र भक्तपुर क्षेत्रका व्यवसायीले विभागका टोलीहरूले अशिष्ट व्यवहार गर्दै अप्रत्यक्ष रूपमा रकमको बार्गेनिङ गरेको आरोप लगाएका हुन् । विभागको अनुगमन टोली हाल ससाना व्यवसायमा केन्द्रित छ । ठूला व्यवसाय र व्यापारीलाई छुन नसकेको विभागमाथि आरोप छ। ठूलाठूला व्यवसायीहरूमाथि विभागले अनुगमन गर्न नसकेको र सानालाई अनावश्यक दुःख दिएको उनीहरूको दाबी छ।

विभागमा निर्देशकका रूपमा रहेका केही उपसचिवहरू पनि अनुगमन र सेटिङ धन्दामा लागेको व्यवसायीको आरोप छ। लाजिम्पाट क्षेत्रका एक व्यवसायीले विभागका कर्मचारीले साना व्यापारीहरूलाई दुःख दिएको र ठूला व्यापारीलाई केही पनि गर्न नसकेको बताए। ‘ठूलाठूला व्यापारीहरूले म्याद सकिएको अखाद्य वस्तुलाई रिलेबलिङ गरेर बिक्रीवितरण गरिरहेका छन्, त्यसरी विष बेच्नेलाई विभागका कर्मचारीले केही गर्दैनन् तर हामी सानो व्यवसाय गर्नेलाई सानो गल्ती भएपनि दुःख दिने र सताउने गर्छन्’ –लाजिम्पाटका ती व्यवसायीले भने ।

विभागले बजार अनुगमनका लागि दश प्लस दुई अवधारणा ल्याएको भए पनि त्यो सफल हुन सकेको छैन । विभागका केही निर्देशकहरूसँगको मिलेमतोमा निरीक्षण अधिकृतलगायतका कर्मचारीहरूले बार्गेनिङको प्रयास गरेको भन्दै व्यवसायीले त्यसको जानकारी महानिर्देशकलाई गराउने बताएका छन् । उनीहरूले वाणिज्य सचिवको अध्यक्षतामा रहने केन्द्रीय अनुगमन समितिमा समेत आफूहरूले उजुरी गर्ने बताएका छन्। साथै यसरी नै दुःख दिने र रकमको बार्गेनिङ गर्ने क्रम बढाएमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने उनीहरूको भनाइ छ।

विभागले भने नियमित कार्यक्रमअनुसार नै बजार अनुगमनलाई जारी राखिएको बताएको छ। विभागले आफ्नो वेभसाइटमार्फत् दैनिक बजार अनुगमनको प्रगति सार्वजनिक गर्दै आइरहेको छ । दैनिक बजार अनुगमनको अवस्था हेर्दा विभागको टोली स साना पसलहरूमा मात्रै केन्द्रित भएको देखिन्छ । ठूलाठूला व्यवसाय सञ्चालन गर्ने र बद्मासी गर्नेहरूमाथि विभागको टोलीले कुनै अनुगमन गर्न सकेको छैन।

विभागका सूचना अधिकारी तथा निर्देशक राकेश पाण्डेले विभागका निरीक्षण अधिकृतलगायतका कर्मचारीबाट नियमअनुसार नै अनुगमन भइरहेको र बार्गेनिङ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गर्नुभयो।

‘हामीले यो वर्ष बजार अनुगमनको लक्ष्य पूरा गरिसकेका छौं, तर पनि बजारको विकृति रोक्न अनुगमन जारी राखेका हौं, कसैले रिसइबीका कारण जे आरोप पनि लगाउन सक्छन्, त्यस्तो आरोपमा सत्यता छैन’ –सूचना अधिकारी पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँले अनुगमनमा खटिएका कुनै कर्मचारीले बार्गेनिङ गरेको प्रमाणसहित कतैबाट उजुरी आएमा त्यस्ता कर्मचारीलाई कडा कारबाही गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्