भरत ताल निर्माणमा अनियमितता: बागमतीका नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ।

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रवक्ता घिमिरेले मुक्तानलाई ३० करोड २९ लाख रुपियाँ बिगो कायम गर्नुपर्ने माग गरेको जानकारी दिए।

यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरले दिए ।

प्रतिक्रिया दिनुहोस्