भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता 



काठमाडौँ ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उनीबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । शपथ ग्रहणपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उँचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री दाहाल सहभागी भएका थिए ।

आइतबार बिहान दिल्ली गएको प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्