पारस खड्का भन्छन्- क्यानकै सदस्य नेपाली क्रिकेटलाई बदनाम गराउन लागे



काठमाडौं ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सङ्घकै सदस्यहरूले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत खड्काले सङ्घका पदाधिकारी र नेपाली क्रिकेटलाई नै बदनाम गराउन सङ्घ भित्रका सदस्यहरूले प्रयास गरिनु दुखद भएको टिप्पणी गरेका हुन्। उनले कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट सङ्घ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको बताएका छन्।

पारसले भनेका छन्- ‘नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केही सराहनीय कार्यको फल स्वरूप सिङ्गो, संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको सर्वविदितै छ।   कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट सङ्घ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ। यद्यपि यी सबैका विच, सङ्घका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै सङ्घ भित्रका केही सदस्यहरूले हर सम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद: हो।’

खड्काले यसबारे कानुनी उपचार खोजिने चेतावनीसमेत दिएका छन्। नेपाली क्रिकेटका समर्थकहरूलाई यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नहुन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्