कसैले बुझेनन् पशु वाक्य: पुलको लठ्ठा चुँडिदा २ खच्चर मरे ११ घाइते



दैलेख ।

राज्यको नजरबाट टाढा रहेको कर्णालीलाई रोग, भोक र गरिबीले कहिल्यै छोडेन। त्यसमाथि बनेका संरचनाहरूसमेत दीर्घकालीन रूपमा निर्माण नहुँदा कर्णालीबासीले दुःख भोग्नुपरेको तितो यथार्थहरू बेलाबेला बल्झिरहन्छन्।

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबिस नगरपालिका जोड्ने झोलुङ्गे पुल दुई प्रदेशको आवागमनको मुख्य मार्ग हो।

कर्णाली नदी पार गर्ने मुख्य मार्गका रूपमा रहेको उक्त पुलको निर्माण कर्णाली राजमार्ग निर्माण अघि २०५७ सालमा भएको हो। पुलमा मानिसहरू मात्र आवतजावत गर्ने नभएर विभिन्न पशुपन्छीको आवागमनदेखि कर्णाली क्षेत्रको सवारीसाधनका रूपमा रहेका घोडा र खच्चरहरूको समेत आवतजावत गर्ने क्षेत्र हो ।

पुल निर्माणको करिब २४ वर्षपछि आइतबार बिहान उक्त पुलका ३ वटा मुख्य लठ्ठा चुँडिएपछि पुलमा सवार १३ वटा खच्चरहरू दुर्घटनामा परे। ती खच्चरहरू पुलको एकातिरको भाग भास्सिएपछि छेउको जालीमा फसे।

अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्रबाट दैलेखको खिड्कीज्युला क्षेत्रको बजारमा खाद्यान्न बोक्न आउँदै गरेका ती खच्चर पुलमा फसेपछि दर्दनाक अवस्था सिर्जना भयो । कसैले पनि पशु वाक्य बुझेनन् । सामाजिक सञ्जाल रंगियो तर ती खच्चरको उद्धार भने गर्न सकिएन ।

घटनाको जानकारीपश्चात् माथिल्लो कर्णाली हाइड्रोपावर सुरक्षा बेक्याम्पबाट सप्रसनि प्रवेशकुमार रैदारको कमान्डमा ९ सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट प्रसनि भूपेन्द्रबहादुर शाहीको कमान्डमा ७ प्रहरी र इलाका प्रहरी कार्यालय कालेकाँडाबाट प्रसनि रामसिंह खरेलको कमान्डमा ४ जना प्रहरी घटनास्थल पुग्यो।

लठ्ठा चुडिँदा भासिएर फसेका १३ वटा खच्चरलाई पुलको जाली काटेर डोरीको सहायताले उद्धारको प्रयास गरियो । जसमध्ये ३ वटा खच्चरको पुलबाटै उद्धार गरियो भने बाँकी १० वटाको डोरीको सहायताले कर्णाली नदीमा झारेर उद्धार गरियो । तर, २ खच्चरको मृत्यु भयो भने ३ गम्भीर अवस्थामा छन् । बाँकी खच्चर सामान्य अवस्थामा रहेका छन् । जसको उपचार जारी छ ।

घटनामा परेका ती १३ वटा खच्चरहरूमा पञ्चदेवल विनायक नगरपालिका–९ का राजेन्द्र बोहराका ५, जीवन रोकामगरका ३ र नरबहादुर रोकामगरका ५ वटा रहेका छन् ।

घटना करिब बिहान १० बजे भएको भए पनि ११ बजे मात्र खबर प्राप्त भएको र करिब ५ घण्टा समय लगाएर उद्धार गरिएको थियो। यति बेला दुवैतिर जाली लगाएर उक्त पुल बन्द गरिएको इलाका प्रहरी कार्यालय राकमकर्णालीका प्रमुख प्रसनि भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। पुल प्राविधिक चेकजाँचपश्चात् मर्मत गरेपछि मात्र आवागमन चालू हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्