रैथाने धान खोज्दै बीउ बैंकमा किसान

140
Shares

नवलपरासी 

 पूर्वी नवलपरासी स्थित किसान मञ्जु अधिकारी शुक्रबार रैथाने धानकाे बीउ खोज्न स्थानीय बीउ बैंक पुगिन् । एक दशक अघि कास्की  जिल्लाकाे पाेखरा पुगेर त्यहीकाे रैथाने जेठाेबूढाे र पाेखरेली पहेलाे ल्याई खेतमा लगाउँदै आएको धान यस पटक मासिदा उनलाई बीउको अभाव भएको हाे ।

त्यही भएर झिनुवा र अनदीको बीउ खोज्दै स्थानीय सामुदायिक बीउ बैंक आईपुगेकाे  अधिकारीले सुनाईन् । स्थानीय गाउँ घर र सहर बजारमा चाडबाड र मेला पर्वका बेला घरमै खान हाेस या  पाहुनाकाे स्वागतमा अनदीको चिचर, झिनुवाकाे खाजा मिठाे मसिनाेका रूपमा पस्कने पुरानै चलन हाे ।

तर, पछिल्ला केही वर्ष यता यस्ता रैथाने धानहरू ढिला पाक्ने, उत्पादन कम हुने भन्दै किसानहरूले खेतमा लगाउनै छाडी सकेका छन् ।पहिला किसानहरूले मुख्य रूपले वर्ष भरि खान र घर खर्च टार्न बेच्न समेत हुने गरी धेरै फल्ने उन्नत धान लगाए पनि खेतकाे कुनै गराेमा मसिनाे धान लगाएकै हुन्थे स्थानीय मान महतोले बताए ।

त्यसो त झण्डै डेढ दशक देखि परम्परागत धान तथा रैथाने बाली बिरुवाकाे बीउ बिजन जाेगाउन कावासाेती १४ अग्याैलीमा कृषि बिकास तथा संरक्षण कृषक समितिले बीउ बैंक सञ्चालन गर्दै आएको छ । वर्षा लागेसंगै धानकाे ब्याड राख्ने समय चलीरहदा बैंकका कर्मचारीलाई पनि बीउ धान बेच्न भ्याई नभ्याई छ ।


बीउ बैंकमा रैथाने जातका अतिरिक्त सावित्री,सावाँ, वार लगायतका कतिपय उन्नत जातका धानकाे बीउ पनि उपभोक्ताकाे माग अनसार बिक्री वितरणका निमित्त राखिएको छ ।

अधिक माग रहेकाे रैथाने जातकाे घ्यूपुरी धान सकिए पछि पश्चिम बर्दीया पुगेर बीउ खरिद गरी ल्याईएकाे सामुदायिक बीउ बैंक नेपालका अध्यक्ष पार्वती भण्डारीले बताइन् । बैंकले स्थानीय गाउँ घरबाट आउने चामलकाे माग पूरा गर्न अनदी, झिनुवा,कनकजिरा, जाेगनी,सठिया,सत्तरी लगायतका रैथाने धान संरक्षण गर्दै आएको छ । बीउ बैंकमा रैथाने बाली संरक्षण र ग्राहकलाई बीउ उपलब्ध गराउन यहाँको करिब १ बिगाहा १० कठ्ठा खेतमा विभिन्न ब्लक बनाई धान खेती गर्दै आएको स्थानीय किसान एवं बीउ बैंकका  सल्लाहकार  चेत नारायण महतोले बताए ।

बीउ सुरक्षित हाेस भनी संस्थाका लागि घर नजिकै खेतकाे पाटाेमा यस पटक ६४ भन्दा बढी जातका रैथाने धानकाे बीउ छरिएकाे महतोको भनाई छ ।


महताेका अनुसार ब्याडमा राखिएको बीउ तयार भए पछि रैथाने बाली जाेगाउन बैंक आँफैले भाडामा लिएको खेतमा धान राेप्ने गर्दै आएको छ ।
बिगतमा स्थानीय किसानहरूलाई जम्मा पारी रैथाने धान बचाउन लिवर्ड नामक एक गैह्रसरकारी संस्थाले कतिपय धानका बीउनै दिएर सहयाेग गरेकाे स्थानीयहरू बत्ताउँछन् ।

हाल सामूहिक प्रयासमा बीउ बैंक सञ्चालन गर्दै आएको यस संंस्थाले दलहन,तेलहन तथा लहरे बाली बिरुवा, काेदाे, फापर, धान,आलस,केराउ,तिल लगायत रैथाने बाली संरक्षण तथा बीउ साटासाट कार्य पनि गर्दै आएको छ । बीउ बैंककाे दिगाे संचालनार्थ स्थानीय पालिका तथा जिल्ला स्थित कृषि ज्ञान केन्द्रबाट व्यवस्थापकीय तथा प्राविधिक सहयाेग रहदै आएको बताईन्छ ।

अनदी र घ्यूपुरीकाे हिउँदे बाली परीक्षण

समुदायमा संचालित रैथाने धान बीउ पाइने एकमात्र सामुदायिक बीउ बैंक(संघ)नेपालले सम्भवत नेपालमै पहिलाे पटक घ्यूपुरी धानलाई चैतमा पनि राेपेर परीक्षण गरेकाे छ । रैथाने धान खोज्दै जाँदा संस्थाका एक सदस्यकै आफन्तकाे घर पश्चिम कैलालीबाट ७ किलाे घ्यूपुरी धान ल्याएर खेती गर्न थालिएको बीउ बैंकका संस्थापक संयाेजक तुलसी नारायण श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार घ्यूपुरी रैथाने जातकाे धान भएर पनि छिटै पाक्ने छुट्टै जातीय गुण भएकाले यसलाई हिउँदमा पनि राेप्न थालिएको हाे ।
यस बिषयमा कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ विज्ञ संजय ढकालले बीउ बैंकले याे नवीन प्रयास थालनी गरे पनि व्यावसायिक उत्पादनका लागि अझ एक दुई वर्ष हेर्नू पर्ने बत्ताउँछन् ।

खाँदा अत्यन्त मिठाे र बर्षामा मात्र लगाईने सेताे अनदी र घ्यूपुरी हिउँदमा पनि उत्पादन हुन थाले पछि स्थानीय किसानहरू पनि उत्साहित बनेका छन् ।
बजारमा अनदी,झिनुवा,कनकजिरा, दुधराज चामलकाे मूल्य उच्च  रहदा स्थानीय सामुदायिक बीउ बैंकले यही जातकाे बीउ धान १ सय २० रूपैयाँ प्रति केजीमा बिक्री गर्दै आएको छ ।